गाउँपालिकाका लेखापाल र नासु घुससहित पक्राउ
पर्सा, साउन ११ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको धोबिनी गाउँपालिकाको कार्यालयका लेखापाल कृष्णनन्दन राय यादव र नायव सुब्बा अन्नामुल हक अन्सारीलाई एकलाख १० हजार घुससहित पक्राउ गरेको छ ।
गाउँपालिकाबाट उपभोक्ता समितिमार्फत सम्पन्न भएको बाटो ढलान तथा नाला निर्माण र मन्दिर मर्मत सम्भार कार्यको भुक्तानी दिदाँ घुस लिदै गर्दा अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले घुसवापतको रकम लिइसकेको अवस्थामा वीरगंज महानगरपालिका वडा नम्बर १४ वाट उनीहरुलाई पक्राउ गरेको हो ।
गाउँपालिकाले भाडामा लिएको घरबाट अख्तियारको टोलीले उनीहरुलाई नियन्त्रण लिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।