गण्डकी मेडिकल कलेजमा मनपरि शुल्क–विद्यार्थी र अभिभावक आन्दोलित

प्रकाश ढकाल
पोखरा, माघ २१ ।
तीनबर्षअघि पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) मा एमविविएस पढ्न १ सय ८ विद्यार्थी भर्ना भए । जतिबेला काठमाण्डौं उपत्यकाभन्दा बाहिर एमविविएस पढ्ने विद्यार्थीलाई ४२ लाख ४५ हजार रुपैयाँ शुल्क लाग्थ्यो । मन्त्रीपरिषद् बैठकको निर्णयबाट नै उपत्यका सहित देशैभरिका मेडिकल कलेजले विद्यार्थीसँग लिने शुल्क निर्धारण भएको थियो । चिकित्सा शास्त्र अध्ययन संस्थानको नियन्त्रणमा सञ्चालित सबै मेडिकल कलेजलाई यो निर्णय बाध्यकारी छ । तर जिएमसीले चाहीँ सरकारले तोकेको शुल्कभन्दा बढी रकम असुलेको भेटिएको छ ।

त्यतिबेला भर्ना भएका सबै विद्यार्थीसँग ५५ लाख रुपैयाँभन्दा बढी रकम लिएको अभिभावकहरुले बताएका छन् । ‘५ बर्षको ४२ लाख ४५ हजार भन्दा बढी लिन नपाईने नियम छ । तर गण्डकी मेडिकल कलेजले हरेक बिद्यार्थीसँग ५५ लाख भन्दा बढी रकम असुलेको छ, एक अभिभावकले भने–सरकारले तोकेको रकम नियमअनुसार कलेजको खातामा जम्मा गर्नुपर्छ । त्यो भन्दा बढी रकम चाहीँ नगद बुझाउनुपर्छ, कलेजले चेक पनि लिन मान्दैन ।’ कारबाहीमा पर्ने डरले ४२ लाख ४५ हजार रुपैयाँ भन्दा बढी रकम कलेजले विद्यार्थीसँग नगद नै बुझ्ने गरेको ति अभिभावकले बताए ।

‘सरकारले तोकेको नियम सबैलाई समान हुनुपर्ने हो । मेरिट लिष्टमा नाम आएपछि विद्यार्थीलाई बोलाएर छुट्टाछुट्टै डिल गरिएको थियो, उनले भने–कुन विद्यार्थीसँग कति रकम लिएको छ त्यसको एकिन छैन । मनपरि शुल्क उठाईएको छ । सबैभन्दा थोरै तिर्नेले ५५ लाख तिरेका छन् । केहीले चाहीँ त्यो भन्दा पनि धेरै तिरेको भन्ने सुनेका छौं ।’

कलेजले डिल गरेअनुसार रकम नतिरे विद्यार्थीलाई फेल गराईदिने चेतावनी दिएको अर्का अभिभावक बताउँछन् । ‘बच्चालाई भर्ना गर्न जाँदा डिल अनुसार रकम नतिरे फेल गराईदिने धम्की पनि दिए । हामीलाई डर लाग्यो । त्यसैले ३ बर्षसम्म चुपचाप बस्यौं, उनी भन्छन्–अवको पास फेल कलेजको हातमा हुँदैन । त्यसैले बोल्ने आँट आयो ।’ कलेजले लिएको बढी रकम फिर्ता गर्न सबै अभिभावकले संयुक्त रुपमा आन्दोलन चलाएका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी गरेका छन् । अधिकांश अभिभावकले बार्षिक शुल्कबाहेकका सबै रकम बुझाईसकेका छन् ।

‘सरकारले तोकेको रकम लगभग बुझाईसक्यौं । कसैले ५१ लाखसम्म बुझाईसक्नुभएको छ । कसैले भर्ना भएकै बेला ५५ लाख बुझाएको हामीले सुनेका छौं, अभिभावकहरु भन्छन्–धेरै रकम बुझाएकाको फिर्ता हुनुपर्छ । सरकारले तोकेभन्दा बढी रकम हामी बुझाउन सक्दैनौं । यो सरासर कलेजको भ्रष्टाचार हो ।’ उनीहरुले विज्ञप्ती नै निकालेर बढी रकम फिर्ता गर्न माग गरे ।

‘सरकारले तोकेको रकम मात्रै लिनुहुन जोडदार माग गर्दछौं । अभिभावले तिरेको बढी रकम तत्काल फिर्ता गर्न हाम्रो आग्रह छ, विज्ञप्तीमा भनिएको छ–विद्यार्थीले तिरेको सबै रकमको रसिद तत्कालै उपलब्ध गराईयोस् । हाम्रो माग पूरा नभए त्यसको अप्रिय गतिविधिको जिम्मेवारी कलेजले लिनुपर्छ ।’ अभिभावकले प्रधानमन्त्री, शिक्षामन्त्री, उपकुलपति, डिन र अनुगमन निर्देशनालयको समेत ध्यानाकर्षण गराएका छन् । सरकारले तोकेको शुल्क लिने बिषयमा पुस १५ गते सहायक डिन राजेन्द्र प्रसाद गुरागाईं र अखिल नेपाल विद्यार्थी यूनियन बीच समझदारी भएको थियो ।

विद्यार्थीको छुट्टै आन्दोलन

बढी शुल्क लिएपछि कलेजका विद्यार्थीहरु पनि आन्दोलित भएका छन् । उनीहरुले लेखनाथ अर्घौंमा रहेको कलेजमा विहीबार तालाबन्दी गरिदिएका हुन् । विशेषगरी २०१५, ०१७ र ०१८ ब्याचका विद्यार्थीहरुले चर्को शुल्क लिएको विरोधमा आन्दोलन गरेका हुन् । उनीहरुले अघिल्लो बर्षपनि आन्दोलन गरेका थिए । तीनबुँदे सहमति गरेपछि आन्दोलन रोकियो । तर अबैध रकम लिन भने छोडेन । अहिले पनि मनपरि लिईएको शुल्क फिर्ता गर्न माग सहित तीनवटै ब्याचका विद्यार्थीहरुले आन्दोलन चलाएका हुन् । सरकारको निर्णय कार्यान्वयन गर्न र विद्यार्थीले तिरेका सम्पूर्ण रकमको बिल तत्काल उपलब्ध गराउन उनीहरुको माग छ ।

‘चिकित्सा शिक्षालाई धराशायी बनाउने हिसाबले ठगी, निजीकरण, व्यापारिकरण र माफियाकरणले ग्रस्त बनाइएकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । मेडिकल कलेजभित्रका विकृति विसंगतिहरु सुधार गर्न माग गर्दछौं ।–विहिबार विद्यार्थीद्धारा जारी विज्ञप्तीमा लेखिएको छ ।’ आन्दोलनमा २०१६ ब्याचका विद्यार्थीले पनि ऐक्यवद्धता जनाएका छन् । २०१५ देखि २०१८ सम्म ब्याचका एमबिबिएस विद्यार्थीले वार्षिक डेढ लाख देखि तीन लाखसम्म तोकिए र ५ वर्षे कोर्षमा झण्डै आठ लाखदेखि १५ लाख रुपैयाँसम्म बढी रकम तिर्नुपरेको उनीहरुको भनाई छ ।

सन् २०१६ मा एमविविएसमा छोरालाई भर्ना गराएका नवराज दवाडीले हालसम्म ४८ लाख रुपैयाँ बुझाईसकेको बताए । ‘मैले ४८ लाख बुझाईसकें । तर यो रकम बुझाएको प्रमाण केही पनि छैन, उनले भने–विद्यार्थीको नाममा चेक काटेर कलेजलाई नगद बुझाउने हो । अझै ७ लाख बुझाउन बाँकी छ ।’ तीन बर्षमा बर्षेनी ३ लाख ३५ हजारका दरले ७ लाख ५ हजार रुपैयाँ बुझाउन बाँकी रहेको उनले सुनाए ।

‘कलेज बन्द गराउने षड्यन्त्र’

कलेजका अध्यक्ष खुमा अर्यालले चाहीँ कलेज बन्द गराउने षड्यन्त्र भएको बताए । ‘केही मान्छेहरु कलेजलाई ध्वस्त पार्ने योजनामा छन् । ४ बर्षअघिका बिद्यार्थीहरु फि फिर्ता होस् भनेर लागेका छन् । यो भन्नु नै कलेज बन्द गर भनेको हो, उनले भने–टियु ले नै केही शुल्क कलेजले निर्धारण गर्न पाउने ब्यवस्था गरेको छ । त्यसबाहेक बढी शुल्क हामीले लिएका छैनौं । यो सरासर झुट हो ।’ ५५ लाख रुपैयाँ कसैसँग पनि नलिएको उनले सुनाए । शुल्कको बिषयलाई लिएर केही ब्यक्तिहरु बार्गेनिङमा लागिरहेको उनले आरोप लगाए । शुल्क फिर्ता गर्ने कुरा अब्यवहारिक भएको अर्याल बताउँछन् ।

कलेजका प्रशासन शाखाका कृष्ण घिमिरेले बाहिर आएका कुनैपनि कुरा सत्य नभएको दावी गरे । ‘जुन कुरा बाहिर आएको छ, त्यसमा सत्यता छैन । विद्यार्थीले गर्ने खर्चका आधारमा अभिभावले कलेजलाई रकम तिर्ने हो, उनले भने–केही ब्यक्तिहरु गलत नियतका साथ लागेका छन् । समस्या ठूलो होईन ।’ अभिभावले भनेझैं ५५ लाख रुपैयाँ कलेजले लिएको छैन त भन्ने आदर्शसमाजको प्रश्नमा उनले भने–‘त्यस्तो होईन होला । फाईनान्सलाई थाहा हुन्छ । मलाई थाहा हुँदैन । होस्टल र अन्य खर्च सहित लिएको हुन सक्छ ।’

तर विद्यार्थीहरुले चाहीँ ५५ लाख बाहेक खाना र होस्टलको शुल्क छुट्टै तिरेको बताएका छन् । ‘कलेजले तोकेको रकम छुट्टै छ । होस्टल र खानाको लागि छुट्टै १५ हजार तिर्छौं, विद्यार्थीहरुले भने–५ बर्षपछिको इन्टर्न फि पनि भर्ना भएकै बेला तिर्नुपर्छ । अन्त कतैपनि यस्तो हुँदैन ।’

‘नियमबाहिर जान मिल्दैन’

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले घटना बुझ्नका लागि आईतबार दुवै पक्षलाई बोलाएको बताए । ‘माथीबाट तोेकेको भन्दा बढी रकम लिन पाईंदैन । लिनुपर्ने भएपनि कारण खुलाएर लिने र रसिद दिनुपर्छ, उनले भने–नियम मिच्न पाईंदैन । कसैले जबरजस्ती गर्न खोजे कारबाही हुन्छ ।’ दुवै पक्षसँग बैठक बसेर गलत गरेको भए कानुनी दायरामा ल्याउने बुढाको भनाई छ ।

कुन शीर्षकमा कति रकम ?

सरकारले काठमाण्डौं उपत्यकाभित्रका मेडिकल कलेजलाई ३८ हजार ५० हजार र उपत्यका बाहिरका कलेजलाई ४२ लाख ४५ हजार रुपैयाँ शुल्क लिन पाउने ब्यवस्था गरेको छ । यसमा प्रबेश शुल्क, परीक्षा शुल्क, फिल्ड प्रोग्राम, परिचयपत्र, ल्याव, लाईब्रेरी, मेडिकल वेनिफिट फि, प्रोग्राम डेभलपमेण्ट फि, रिपियर एण्ड मेण्टेनेन्स, स्पोर्टस, स्टुडेण्ट युनियन, कल्याणकारी कोष, ट्युसन फि जोडिएको छ । सबैभन्दा धेरै प्रोग्राम डेभलोपमेण्ट फि भनेर २० लाख हाराहारीमा बुझाउनुपर्छ ।

यसबाहेक त्रिवि रजिष्ट्रेशन शुल्क ५ सय, चिकित्सा शास्त्र अध्ययन संस्थानलाई बुझाउनुपर्ने प्रति परीक्षा शुल्क २ हजार ५ सय, मेपाल मेडिकल काउन्सिलको दर्ता शुल्क, छात्राबास र खाना खर्च विद्यार्थीले छुट्टै तिर्नुपर्छ । गण्डकी मेडिकल कलेजमा पढ्ने विद्यार्थीहरुले खाना र छात्राबासको १५ हजार छुट्टै बुझाउँदै आएका छन् भने परीक्षा शुल्कका लागि भनेर ६ हजार ५ सय बुझाउँछन् । सरकारले तोकेको ४२ लाख ४५ हजार र छात्राबास तथा खाना शुल्क बाहेक १३ लाख हाराहारीमा बढी शुल्क विद्यार्थीले कलेजलाई बुझाएको दावी गर्छन् ।

बढी लिएको रकमको रसिद भने कलेजले दिँदैन । ईन्टर्नसीप फि १ लाख ८० हजार, बार्षिक शुल्क बर्षेनी २ लाखका दरले ५ बर्षको १० लाख, विश्वविद्यालय रजिष्टर शुल्क एकमुष्ट ४५ हजार, ४२ हजार ४ सय ५० शैक्षिक कर र सेक्युरिटी डिपोजिट ५० हजार (९० प्रतिशत फिर्ता हुने) रकम बढी तिरेको अभिभावकहरुले बताए । नेपाल सरकार मन्त्रीपरिषद्को असोज २६ गतेको निर्णयले तोकिएको रकम भन्दा बढी तिर्नुपरेमा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न आग्रह गरेको छ ।