गण्डकी प्रदेशका मुख्यमन्त्री भन्छन्–प्रदेश असफल भए, त्यसको दोष ओलि सरकारले लिनुपर्छ

पोखरा, भदौ १२ ।
संघीयताले देशमा शक्तिको विकेन्द्रकरण गरेको भनिएपनि केन्द्र सरकारको दवावमा छन् सबैजसो प्रदेश सरकारहरु । आफ्नो सरकारको सचिव समेत हेरफेर गर्न नपाउने ब्यवस्था छ । प्रदेश सरकारले आफुले चाहे अनुसार काम गर्न पाएको छैन र त्यो स्वतन्त्रता पनि छैन ।

प्रदेशलाई अधिकार दिने बिषयमा केन्द्र सरकार निकै निर्दयी भएको सबै प्रदेश सरकारको गुनासो छ । सबै प्रदेश मिलेर केन्द्रसँग अधिकार नमागे संघीयता नै असफल हुने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बताउँछन् । एकजुट भएर आवाज उठाउनुपर्ने उनको भनाई छ ।

‘घेराबन्दीमा नपर्दासम्म, म अप्ठेरोमा परें भन्ने नपरेसम्म या अब लेनदेन गरिएन भने मेरो पनि अस्थित्व संकटमा पर्छ भन्ने यहसास नभएसम्म कुनै पनि शासनसत्ताले कम्परमाइज गरेको छैन’ उनले भने–‘सातै प्रदेशले अब एक साथ संघीय सरकारलाई महसुस गराउने बेला आयो । संवैधानिक व्यवस्था चाँडोभन्दा चाँडोभन्दा चाँडो व्यवहारमा उतार्नुर्पयो, संविधानमै त्रुटी छ भने सच्चाउनुर्पयो ।’

सांसदहरुको राष्ट्रिय मन्च नेपालको कार्यक्रमलाई सम्बोध गर्दै मुख्यमन्त्री गुरुङले आफुँहरुले सरकारको महसुस गर्न नपाएको गुनासो पोखे । प्रदेश सरकारले नतिजा दिन सकेन भने कम्युनिस्ट तथा केपी ओली नेतृत्वको सरकारले सम्पूर्ण दोष व्यहोर्नुपर्ने गुरुङको भनाइ थियो । प्रदेशलाई अधिकार दिने कुरामा कन्जुस्याइँ नगर्न उनको आग्रह छ ।