गण्डकीको हिउँदे अधिवेशन पुस २३ देखि
पोखरा, पुस ७ ।
बर्षे अधिवेशन सकिएको साढे ३ महिनापछि सरकारले हिउँदे अधिवेशनको तयारी थालेको छ । शनिबार बसेको मन्त्रीपरिषद् बैठकले पुस २३ गतेका लागि अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसँग आग्रह गरेको छ । पुस २३ गते दिउँसो १ बजे अधिवेशनका लागि आग्रह गरिएको सरकारका प्रबक्ता रामशरण बस्नेतले जानकारी दिए । गत असोज ८ गते वर्षे अधिवेशन सकिएको थियो ।
हिउँदे अधिवेशनको लागि सरकारले ८ वटा विधेयक तयार पारेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव फणिन्द्रमणि पोखरेलका अनुसार तत्कालका लागि ८ वटा विधेयक संसदमा पेश गर्नको लागि तयार छन् भने १४ वटा विधेयक बनाउन मन्त्रिपरिषदले सहमति दिएको छ । यस्तै, संसदमा अघिल्लो वर्षे अधिवेशनकै तीन वटा विधेयकहरु पनि पेन्डिङ छन् ।
पहिलो र दोश्रो अधिवेशनबाट प्रदेशका १९ वटा कानून निर्माण भएका छन् । यसअघिको वर्षे अधिवेशन जेठ १६ देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । गण्डकी प्रदेशसभामा सत्तापक्षीय दल नेकपाका ३९ (साविकको एमालेका २७ र माओवादी केन्द्रका १२) सहित प्रतिपक्षी दल नेपाली कांग्रेसका १५, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टी नेपालका २/२ जना सांसद छन् । जनमोर्चाका एक जना प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको अघिल्लो साता निधन भएको छ भने स्वतन्त्र सांसद दीपक मनाङेले (राजीव गुरुङ) अहिलेसम्म शपथ लिएका छैनन् ।
कार्यविधी स्विकृत
शनिबार बसेको मन्त्रीपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयका ३ वटा कार्यविधि पारित गरेको छ । मन्त्रालयले तयार पारेको ‘स्वरोजगार सिर्जना कार्यक्रम कार्यविधी’, ‘युवा, महिला, अपाङ्गता भएका नागरिकको लागि क्षमताका आधामार व्यावसायिक तथा सीपमूलक कार्यक्रम कार्यविधी’ र ‘सडक बालबालिका पुर्नस्थापना केद्र र श्रमिक बालबालिकाको लागि अस्थायी सिकाई केन्द्र, सञ्चालन कार्यविधी’ २०७५ स्विकृत गरिएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ‘वाणिज्य तथा आपूर्ति सम्बन्धि कार्यक्रम सञ्चालन मार्गदर्शन निर्देशिका, २०७५’ पनि मन्त्रिपरिषदले स्विकृत गरेको हो ।
यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहने गरि कास्कीमा नयाँ कार्यालय स्थापना हुने भएको छ । आर्थिक भार नबढ्ने गरि भूमिगत जलश्रोत तथा सिँचाई कार्यालय स्थापना गर्न मन्त्रिपरिषदले सहमति दिएको हो । यो कार्यक्रमको कुल बजेट १२ करोड रुपैयाँ रहेको छ र सोही बजेटभित्रै यो कार्यालय पनि समावेश हुने प्रवक्ता बस्नेको भनाई छ । कार्यालयमा ३ जना कर्मचारी रहनेछन् ।