कोरला नाकाः चीनतिर धमाधम कालोपत्रे, नेपालतिर ग्राभेल मात्रै

मुस्ताङ, असोज २७ ।
नेपाल–चीन सीमाअन्तर्गत गर्ने मुस्ताङको कोरला नाका सञ्चालन गर्नका लागि पूर्वाधार विकासको कामले तीब्रता पाएको छ । नेपालसँग दीर्घकालीन रूपमा व्यापार गर्न चीनले समेत प्राथमिकतामा राखेको यो नाकामा सडकलगायत अन्य भौतिक पूर्वाधार विकासको काम द्रुत गतिमा अगाडि बढाइएको हो । चीनले आफ्नो भूभागमा सडक पुरै कालोपत्रे गरिसकेको छ ।

चीनतर्फ सडक कालोपत्रका साथै भन्सार कार्यालय, क्वारेन्टाइन पोस्टलगायतका पूर्वाधार विकासको काम करिब सम्पन्न गरेको छ । चीनतर्फ नाका खुला गर्नका लागि करिब ९० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सकिएको स्रोतले जानकारी दियो । चीनले नाकामा ३ तला अण्डरग्राउण्ड सहित ५ तले भन्सार कार्यालय भवन तथा अन्य भौतिक संरचना निर्माण गरेको छ ।

नेपालतर्फ पनि नाका खुलाउनका लागि आवश्यक पूर्वाधार विकासको काम भइरहेको मुस्ताङबाट निर्वा्चित गण्डकी प्रदेशसभा सदस्य इन्द्रधर विष्टले जानकारी दिए । उनका अनुसार नेपालतर्फ पनि कोरला नाकातर्फको सडक ग्राभेलको काम भइरहेको छ । ‘नेपालतर्फको पनि नाकाको सडक ग्राभेल गर्ने काम ८० प्रतिशतभन्दा धेरै सम्पन्न भइसक्यो’ उनले भने, ’नाकामा भन्सार कार्यालय, क्वारेन्टाइन पोष्ट निर्माण लगायतका काम चाडै अघि बढ्छ ।’ सरकारले कोरला नाकामा भन्सार कार्यालय स्थापनाका लागि बजेट बिनियोजन गरिसकेको छ ।

नाकामा आवश्यक पूर्वाधार विकासका लागि १४ सय रोपनी जग्गा अधिग्रहणको काम सम्पन्न भएको र नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रशारण लाइन विस्तारको काम द्रुत गतिमा अगाडि बढाइरहेको उनले जानकारी दिए । प्राधिकरणले गण्डकी कोरिडोर विस्तार गर्दै कोरला नाकासम्म प्रसारण लाइन र्पुयाउने गरी काम गरिरहेको छ ।

यो नाका सञ्चालनमा आए नेपाल र चीनबीच व्यापार विस्तारका लागि धेरै सहज हुने प्रदेशसभा सदस्य विष्टले जानकारी दिए । यो नाकाबाट तिब्बतको बस्तीसमेत नजिक भएका कारण मुलुकले यसको लाभ लिनसक्ने उनको भनाइ छ ।

नेपालतर्फको सडकको स्तर गतिलो नहुँदा नाका पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । चीनले वर्षमा दुई पटकमात्र कोरला नाका खुला गर्ने गरेको छ । चीनतर्फ लागेको व्यापार मेला आउजाउ गर्न पनि मुस्ताङवासीलाई सडककै कारण सास्ती छ । चीनले आफ्नो भूभागको सडकमा सवारी सञ्चालन गरिरहेको छ । मेला स्थलसम्म चीनबाट सवारी आए पनि नेपालले आफ्नोतर्फ सडकलगायतका पूर्वाधार निर्माण गर्न नसक्दा नाका खुले पनि व्यापारीले चाहेअनुसारका सामान ल्याउन नसकेको गुनासो गरेका छन् । nepalnews.com