केन्द्रिय समिति बढीमा ९९ सदस्यीय बनाउन काँग्रेस गण्डकीका क्षेत्रीय सभापतिको सुझाव

पोखरा, मंसिर १२ ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका क्षेत्रीय सभापतिहरुले केन्द्रिय समिति बढीमा ९९ सदस्यीय बनाउन सुझाव दिएको छ । पोखरामा भएको सभापतिहरुको भेलाले काँग्रेसमा धेरै केन्द्रिय सदस्य हुँदा निर्णयमा समस्या भएको भन्दै चुस्ता समिति बनाउन सुझाव दिएको हो । ‘केन्द्रिय समिति धेरै भएर मात्रै पार्टी बलियो हुने होईन । सानो आकारको चुस्त समिति बनाउन हामीले सुझाव दिएका हौं, भेलाका संयोजक विजयराज आचार्यले भने–त्यसैले बढीमा २ अंक (९९) सदस्यीय समिति बनाउनु उपयुक्त हुन्छ । यही सुझाव केन्द्रिय समितिको बैठकमा पठाउँछौं ।’

भेलाले योसँगै ६ बुँदे निर्णय गरेको छ । आगामी मंसिर २८ देखि हुने महासमिति बैठकमा क्षेत्रीय सभापतिहरुलाई अनिवार्य उपस्थित गराउनुपर्ने, परिमार्जित विधानमा प्रतिनिधीसभातर्फका क्षेत्रीय सभापतिलाई केन्द्रकै महासमितिमा पदेन सदस्य बनाउनुपर्ने तथा प्रदेशसभातर्फका क्षेत्रीय सभापतिलाई प्रदेश महासमिति सदस्य हुने गरि ब्यवस्था गर्नुपर्ने, क्षेत्रीय सभापतिहरुलाई परिमार्जित संरचनामा काम गर्न समस्या भएकाले जतिसक्दो छिटो कामको बाँडफाँड गरिदिन पनि माग गरेको छ ।

यस्तै, क्षेत्रीय सभापतिहरुको राष्ट्रिय सम्मेलन पोखरामा गर्न केन्द्रिय समितिसँग गण्डकी प्रदेशको माग छ । काँग्रेसका क्षेत्रीय प्रतिनिधिहरु जनसंख्याको आधारमा नभई क्रियाशिल सदस्यताका आधारमा तोकिनुपर्ने ब्यवस्था मिलाउन पनि उनीहरुले माग गरे । योसँगै बर्तमान सरकारले नागरिकको हित विपरित काम गरिरहेको आरोप लगाउँदै उनीहरुले सरकारको कामप्रति भत्र्सना समेत गरेका छन् । कास्की १ का सभापति बृजमान गुरुङको अध्यक्षतामा भएको भेलामा गण्डकी प्रदेशका साविक २३ वटै निर्वाचन क्षेत्रका सभापतिहरु सहभागि थिए ।