काँग्रेस महासमिति बैठक मंसिर ५ गतेदेखि काठमाण्डौंमा

काठमाण्डौं, भदौ ९ ।
नेपाली काँग्रेसको महासमिति भेला आउँदो मंसिर ५ गतेदेखि काठमाण्डौंमा हुने भएको छ । शनिबार बसेको केन्द्रिय समिति बैठकले मंसिरको ५ देखि ९ गतेसम्म महासमिति भेला गर्ने निर्णय गरेको हो ।

लामो समयदेखि महासमितिको भेला गर्नुपर्ने माग काँग्रेसभित्रै छ । यसअघि काँग्रेस कास्कीले पोखरामा महासमिति बैठक गर्न प्रश्ताव गरेको थियो । तर ब्यवस्थापनको कारण देखाउँदै यसपालिको भेला काठमाण्डौंमा गर्न लागेको काँग्रेस नेताहरुले बताएका छन् ।

महासमिति भेलामा विधान संशोधन हुनेछ । संघीय संरचनामा पार्टीको संगठन निर्माण गर्न महामन्त्री पूर्ण बहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन समिति गठन भएको छ । समितिले शुक्रबारदेखि काम थालिसकेको छ ।