काँग्रेस प्रबक्ता शर्माको सरकारलाई चुनौतिः ३ दिनमा नेपालको नक्सा सार्वजनिक गर्नुस्

पोखरा, मंसिर ९ ।
कास्कीमा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि केन्द्रीय नेताहरु यतिबेला पोखरा केन्द्रित छन् । यही माहौलमा चुलिएको छ, भारतले निकालेको नयाँ राजनीतिक नक्सा । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत समेटेर भारतले आफ्नो नक्सा जारी गरेपछि नेपालका राजनीतिक दलहरु त्यसको घोचपेचमा छन् । माहौल मिलाईदिएको छ, कास्कीको उपनिर्वाचनले ।

पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीकै इशारामा भारतले राजनीतिक नक्सा सार्वजनिक गरेको आरोप लगाएपछि त्यसको आरोप प्रत्यारोप चुलिएको हो । उनको अभिब्यक्तिमाथी खण्डन गर्दै सरकारका प्रबक्ता गोकुल बास्कोटाले पोखराबाटै टनकपुर, कोशी, महाकाली लगायत सन्धीको जवाफ मागे । काँग्रेसको संलग्नतामा भएका सन्धी र सम्झौताको बारेमा देउवाले जवाफ दिनुपर्ने उनको माग थियो ।

अहिले काँग्रेस प्रबक्ता शर्माले चाहीँ नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई चुनौति दिएका हुन् । आफ्ना सभापति देउवाले आशंकाको भरमा त्यो अभिब्यक्ति दिएका भन्दै उनले काँग्रेसलाई पनि त्यही शंका लागेको बताएका छन् ।

‘नेपाल देशको नक्सा के हो ? ३ दिनभित्रमा सरकारले सार्वजनिक गरोस्, नेपाली काँग्रेस पार्टीको तर्फबाट सरकारलाई आग्रह गर्दछु,’ उनले भने, ‘छपाईमा किन समस्या भो ? कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नक्सा तयार गर्न सरकारलाई समस्या छ भने हामीलाई भनोस् । ३ दिनमा सक्दैन भने प्रतिपक्षलाई भनोस्, नक्सा जारी हामी गर्छौं । नेपालको हरेक बालबालिकाको हातमा पु¥याउन हामी तयार छौं ।’ उनले सरकार र नेकपाका नेता कार्यकर्तालाई नरेन्द्र मोदीसँग जवाफ माग्न सुझाव दिएका छन् ।

‘भारतको प्रधानमन्त्रीलाई विभिन्न भाषामा जन्मदिनको शुभकामना दिँदै गर्दाखेरि नेपालको मिडियालाइ मात्र खपत हुने गरि विज्ञप्ति आए कालापानीको विषयमा,’ उनले भने, ‘यतिका समय गैसक्यो, केवल एउटा टेलिफोन कल मोदीको नाममा काठमाडौंबाट गैरहेको छैन । त्यसैले कांग्रेसको सभापतिले बोल्दै गर्दा आशंका राख्नुभयो । कतै भारतसँगको सहमतिमा पो भएको हो कि ? यो उहाँले आशंका राख्नुभएको हो । उहाँको अभिव्यक्तिमा पार्टीको ठहर होइन अनि उहाँको पनि ठहर होइन । आशंका प्रतिपक्षीले राख्न पाउछ ।’ सीमाका बिषयमा पूर्ण सघाउन काँग्रेस तयार रहेको उनले सुनाए ।

सरकारले सीमा सुरक्षा र फिर्ता ल्याउने विषयमा कुनै पहल नगरेको उनको आरोप छ । ‘बालुवाटार बैठकमा सहमति भयो । प्रधानमन्त्रीलाई पहल गर्न भनियो । तर समय गएको निकै भयो । कम्तिमा प्रमुख प्रतिपक्षी दलका नेताले राजदूतलाई फोन गरेर नेपालको भूमि हो यो, तपाइँले जारी गरेको नक्सामा आपत्ति छ भन्नुभयो,’ उनले अघि भने, ‘तर, त्यै लैनचौर नजिकै रहेको परराष्ट्र मन्त्रालयले बोलाएर छलफल गरेन ।’

उनले कास्कीको उपचुनाव २४ सय मतान्तरले जित्ने दावी गर्दै मतदानका लागि मतदातासँग आग्रह गरे । ‘यो निर्वाचन सरकार बनाउन वा सरकार बदल्न होईन । तर मतदाताले दिने एउटा मतले सरकारको शैलिलाई सच्याउन पनि सक्छ । त्यसैेले प्रतिपक्ष वा सरकारका लागि जति अवसर हो । त्यो भन्दा पनि ठूलो अवसर मतदाताका लागि हो । सरकारले २१ महिनामा कसरी गयो र अव कसरी जाओस् भन्ने चाहानुहुन्छ ?,’ उनी भन्छन्, ‘आफ्नो सरकारलाई सच्याउन चाहानुहुन्छ भने आफ्नो हृदयमा रहेको आस्थालाई हृदयमा राखि छोडेर, छानामा टाँगेको झण्डालाई छानामै टाँगिराखेर मतदान रुख चिन्हमा दिएर सरकारलाई सच्चिनलाई दवाव दिने अवसर नेपाल कम्युनिष्टका कार्यकर्तालाई छ ।’