अन्नपूर्ण हिमालबाट हराए विदेशी, खोजीका लागि हेलिकोप्टर परिचालन

पोखरा, बैशाख १२ ।
अन्नपूर्ण १ को सफल आरोहण गरे फर्किने क्रममा एक विदेशी बेपत्ता भएका छन् । मलेसियाका नागरिक वि किन चिन दुई दिनदेखि बेपत्ता भएका हुन् । उनको खोजी र उद्दार गर्न सिम्रिक एयरको २ वटा हेलिकोप्टर त्यसतर्फ लागेका छन् ।

उनको उद्दार गर्न पोखरा र काठमाडौंबाट हेलिकोप्टर त्यसतर्फ परिचालन गरिएको छ । चिन अन्नपूर्ण प्रथम हिमालको आरोहणका क्रममा जाँदा हराएपछि परिवारले बिमा कम्पनीलाई जानकारी गराएपनि उद्धारका लागि कुनै सहयोग नगरेको परिवारले जनाएका छन् ।

आठ हजार मिटरभन्दा अग्लो हिमाल अन्नपूर्ण प्रथम आरोहण गरेर फर्किंदा वि किन चिन हराएको खबर बुधबार साँझ मात्र थाहा भएको थियो । बिहीबार उज्यालो हुनासाथ क्याप्टेन सिद्धार्थजंग गुरुङ सिम्रिक एयरको हेलिकोप्टर लिएर त्यसतर्फ गएका थिए ।

सिम्रिक एयरका अनुसार विहिबार बिहान उडेका सिम्रिकका हेलिकोप्टर अन्नपूर्ण प्रथमको आधार शिविरमा छन् । काठमाडौंबाट उडेको हेलिकोप्टरले आधार शिविरभन्दा केही माथि नै उद्धारमा दक्ष शेर्पा टोलीलाई झारिसकेको छ । उनको उद्धारपछि अस्पताल लगिने बताईएको छ ।

अन्नपूर्ण प्रथमको आरोहरणमा वि किन चीन ३१ जनाको टोलीमा गएको मलेसियाली सञ्चार माध्यम स्ट्रेट्सटाइम्सले लेखेको छ । मंगलबार आरोहण पूरा गरी फर्किंदा उनी बाटोमा छुटेका थिए । यसअघि वि किन चिनले अरु थुप्रै हिमालको आरोहण गरिसकेका छन् ।