अन्ततः कास्की २ मा नेकपाले विद्यालाई नै उम्मेदवार टुंग्यायो, करण र प्यासी रिङ आउट !

पोखरा, कार्तिक १६ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवार टुंग्याएको छ । नेकपा कास्कीले विद्या भट्टराईको एकल नाम सर्वसम्मत सिफारिस गरेपनि गण्डकी प्रदेशले ३ जना सिफारिस गरेको थियो । सोमनाथ अधिकारी प्यासी र राजकाजी गुरुङ करणको नाम थपेर केन्द्रमा पठाएपनि अन्ततः सचिवालय बैठकले विद्याकै नाम टुंग्याएको हो ।

नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले शनिबार बसेको सचिवालय बैठक विद्याको नाम टुंगो लगाएको ब्यहोरा फेसबुक मार्फत सार्वजनिक गरेका हुन् । उनले उम्मेदवारको टुंगो लागिसकेको भएपनि औपचारिक घोषणा भने आइतबारको सचिवालय बैठकपछि गरिने तय भएको जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उम्मेदवारहरुबारे प्रारम्भिक छलफल सुरु भएको र आइतबार फेरि बैठक बसेर उम्मेदवारको टु्ंगो लगाउने बताईएको छ । यता सामाजिक सञ्जालमा भने कास्की २ का लागि विद्याको नाम टुंगिसकेको सार्वजनिक गरिएको छ ।

निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने अन्तिम म्याद २१ कात्तिक बिहान १० बजेदेखि दिउँसो १ बजेलाई तोकेको छ । सिङ्गो देशकै ध्यान खिचेको कास्की २ उपनिर्वाचन प्रतिनिधिसभाको एकमात्र रिक्त स्थान पनि हो । यसअर्थमा पनि कास्की २ को उपनिर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ ।