६ लाखमा किशोरी बिक्री, एक युवक पक्राउ
काठमाण्डौं, माघ १ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भारतको बेश्यालयहरुमा लगेर नेपाली किशोरी बिक्री गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–१७ का ३१ वर्षीय छोङहाङ राई भनिने सन्तोष राई छन् । ब्यूरोका एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार उनलाई धरान–१७, धनकुटे रोडबाट पक्राउ गरिएको हो ।
राईले नेपाली बालिका तथा किशोरीलाई रोजगारी लगाइदिने प्रलोभनमा पारेर नयाँ दिल्लीस्थित जीबी रोडको बेश्यालयमा बिक्री गर्ने गरेको खुलेको उनले बताए । चतुर्वेदीका अनुसार उनले बोर्डर पास गराएर ६ लाख रुपैयाँमा नेपाली किशोरीलाई बिक्री गर्ने गरेको खुलेको छ । पक्राउ परेका राईमाथि इलाका प्रहरी कार्यालय, धरानले मुद्दा चलाउने छ । घटनाबारे थप अनुसन्धान जारी छ ।