६ करोड ठगी गरेको आरोपमा एकजना पक्राउ
काठमाण्डौं, असार ४ ।
महानगरीय अपराध महाशाखाले सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै रु ६ करोड ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले आकर्षक तलब हुने भन्दै ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा नुवाकोट गणेशस्थानका ३४ वर्षीय प्रवीन पौडेललाई मङ्गलबार मकवानपुरबाट पक्राउ गरी आज काठमाडौँ ल्याई सार्वजनिक गरेको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापाले काठमाडौँको विशालनगरमा ‘द एपेरिङक फर्म प्रालि’ नामक ट्रेनिङ सेन्टर खोलेर पौडेलले विभिन्न व्यक्तिलाई ठगी गरेको जानकारी दिए । ‘पौडेलले सिङ्गारपुरको सोलास कम्पनीको पानीजहाजमा काम लगाइदिने भन्दै विभिन्न व्यक्तिलाई भारतको लखनउमा पठाएर तालीमसमेत दिने गरेको अनुसन्धानमा खुलेको छ’, उनले भने ।
पक्राउ परेका पौडेलले काम गर्न जाने लागत रु पाँच लाख र तलब अमेरिकन ६५० डलर हुने प्रलोभन देखाएर ३०० भन्दा बढीको रु छ करोड ठगी गरेको महाशाखाको दाबी छ ।