सरकारमाथी चौतर्फी घेराबन्दी भयो–मुख्यमन्त्री राइ

पोखरा, भदौ २१ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले संघ सरकारमाथी चौतर्फी घेराबन्दी भैरहेको बताएका छन् । पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेलालाई सम्बोधन गर्दै उनले समयमा अधिकार हस्तान्तरण नहुदाँ प्रदेशले देखिने गरी काम थाल्न नसकेको बताए । कर्मचारीको केन्द्रिकृत मानसिकताले अप्ठेरो अवस्था सिर्जना भैरहेको उनको भनाई छ । ‘संघीय सरकारमाथी चौतर्फी रुपमा घेराबन्दी भईरहेको छ । प्रदेश सरकारले गति लिन सकेनन्, उनले भने–त्यसैले संघीयताको औचित्यमाथी नै प्रश्न आउन थालेको छ । तीनवटै सरकारको आलोचना ब्यापक छ ।’

उनले प्रदेशलाई संरचना तयार गर्ने समय लाग्ने भएकोले केही समय अझै समस्या देखिने बताए । ‘कार्यकारी सरकारको हैसियतले प्रदेशमा नीति कार्यक्रम र बजेट प्रस्तुत ग¥यौं, तर त्यसलाई प्रभावकारी कार्यान्वयन गर्नको निम्ति सरकारको आफ्नै युनिट छैन । केन्द्र सरकारका मन्त्रीहरु प्रदेशलाई अधिकार दिनै चाहँदैनन् ।’ मुख्यमन्त्री राइले प्रदेश पूरै नयाँ शिराबाट स्थापित भएको भन्दै अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको बताए । ‘बनिबनाउ अधिकार र संरचनाको प्रयोग र त्यसमाथि उभिएर हिँड्ने हैसियतमा प्रदेश सरकार थिएन । प्रदेश सरकारले आफ्नो बाटो आफै खडा गर्नुपर्ने अवस्था छ, उनले थपे–सरकार हात बाँधेर बसेको छैन ।’