‘समृद्धि र स्थिरताका लागि नेकपा’

 

पोखरा, कार्तिक ३० ।

नेकपा नेता, कार्यकर्ता पोखराका ११ वटा वडामा पार्टीलाई मत मागिरहेका छन् । मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीलाई जिताउन आग्रह गर्दै नेकपाले घरदैलो र कोणसभा गरिरहेको छ । नेकपा नेता, कार्यकर्ताले लामो समयपछि देशमा स्थिर सरकार बनेर समृद्धिको जग बसेको भन्दै त्यसलाई अनुमोदन गर्न पनि नेकपालाई जिताउन आग्रह गरिरहेका छन् ।

पोखरा १५ मा शुक्रबार भएको कार्यक्रमा नेकपा नेता खगराज अधिकारीले स्थिरता, समृद्धि र नयाँ नेपालको सपना साकार पार्न नेकपाको विकल्प नभएको बताए । उनले पार्टीले दलित र भूमिहीनलाई घरको मालिक बनाउने गरी ऐन निर्माण गरिसकेको उल्लेख गरे । उनले भने, ‘हामी बसपार्क बनाउँछौं, भूमिहीनलाई व्यवस्थित गर्छाैं । अर्काे पटक मत माग्न आउँदा बसपार्क बनिसकेको हुनेछ ।’

नेकपा उम्मेदवार भट्टराईले आर्थिक विकासका लागि आर्थिक स्थायित्व जरुरी भएको बताइन् । नेकपाको दुई तिहाइको सरकार बनेपछि व्यवस्थित विकास र ठूला योजना निर्माण गरी समृद्धिको जग बसेको उनले सुनाइन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले थालेका विकासका योजना र जनताको भरोसा टुट्न नदिनेगरी काम गर्ने उनको भनाइ छ । उनले भूतपूर्व सैनिकहरुका समस्या समाधान लागि पहल गर्ने आश्वासन दिइन् । उनले भनिन्, ‘देश बनाउन भूपूहरुको उल्लेख्य योगदान छ । उहाँहरुलाई परेका समस्या समाधानका लागि हामी प्रतिवद्ध छौं ।’

उनले प्रत्येक गाउँपालिकासँग पोखरा जोड्ने लिंक रोड बनाउने नेतृत्व आफूले लिने बताइन् । उनले जितेर गाउँ नफर्किने भन्ने गुनासो जनतालाई गर्न नदिने प्रविवद्धता गरिन् । शुक्रबारै नेपाल पत्रकार महासंघले आयोजना गरेको अन्तक्र्रियामा उनले आफ्नो जीवन खुला किताब जस्तो रहेको उल्लेख गर्दै सुशासन, पारदर्शिता र सामाजिक न्याय नै आफ्ना मुख्य प्रतिवद्धता भएको उल्लेख गरिन् । भट्टराईले भनिन्, ‘लोकतन्त्र, संसदीय व्यवस्था र पार्टीको मार्गदर्शन अनुरुप काम गर्दै मतदातालाई दिएका आश्वासन व्यवहारमै पूरा गर्ने छु ।’

नेकपा केन्द्रीय सदस्य चूडामणि जंगलीले ‘समृद्ध पोखरा, सुखी पोखरेली’ बनाउन नेकपाले अभियान चलाइरहेको बताए । कांग्रेसले सरकारको बारेमा भ्रम सिर्जना गरिरहेको आरोप लगाउँदै उनले विकास र समृद्धिको बाटोमा सरकारले उल्लेखनीय काम गरिरहेको बताए ।

उपनिर्वाचन अग्निपरीक्षा : करण

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ (करण) ले कास्की निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचन राजनीतिक हिसाबले पार्टीको अग्निपरीक्षा भएको बताएका छन् । पेशागत व्यवसायी निर्वाचन परिचालन कमिटी पोखरा १७ ले आयोजना गरेको विस्तारित भेलामा उनले निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन, मतदाता शिक्षासँगै मतको संरक्षणका लागि नेतृत्व र कार्यकर्ता तहलाई संगठित भएर लाग्न आग्रह गरे ।

समृद्धिको अभियानलाई सफल बनाउन कार्यकर्ता उत्पादनसँग जोडिनुको विकल्प नभएको उनको भनाइ छ । नेता करणले कृषि, पर्यटन र विद्युत मुलुकको समृद्धिका आधार भएको उल्लेख गरे । नेकपा कास्की अध्यक्ष एवं निर्वाचन परिचालन कमिटी संयोजक कृष्ण थापाले इमान, जमान र स्वाभिमानसहित निर्वाचनमा जुट्न सकेमात्र विजय सुनिश्चित हुने बताए ।

विस्तारित भेला आयोजिक समिति संयोजक चित्रराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सदस्य सुवर्ण श्रेष्ठ, पोखरा १७ का वडाध्यक्ष तीर्थ अधिकारी, कृष्ण लम्साल लगायतले निर्वाचनमा अर्जुनदृष्टि लगाउन आग्रह गरे ।