सत्यमोहन जोशीको तस्वीर अंकित सिक्का निकालियो, एउटै सिक्का २५ सयको

काठमाण्डौं, भदौ २५ ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीर अंकित चाँदीको सिक्का निस्कासन गरिएको छ । जोशी सय वर्ष पुगेको अवसरमा नेपाल राष्ट्र बैंक, टक्सार विभागले जोशीको चित्र अंकित तीनवटा सिक्का निष्कासन गरेको हो ।

दुई हजार पाँच सय, एक हजार र एक सय रुपियाँ दरको सिक्कामा एकातिर जोशीको तस्वीर अंकित छ भने अर्को्तिर सगरमाथाको तस्वीर रहेको छ । ललितपुर महानगरपालिकाद्वारा मंगलबार आयोजित कार्यक्रममा अर्थ मन्त्री डा. युवराज खतिवडाले सिक्का सार्वजनिक गरेका हुन् ।

विसं १९७७ वैशाख ३० गते कृष्ण नवमीका दिन ललितपुरको बखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रूपमा उनको जन्म भएको हो । राजा, राजपरिवारका सदस्यबाहेक जीवित हुँदा नै आफ्नो चित्र अंकित सिक्का निष्कासन गर्न पाउनुहुने वाङ्मय शताब्दी पुरुष जोशी पहिलो व्यक्ति हुन् ।

कार्यक्रममा मन्त्री डा. खतिवडाले सत्यमोहन जिवित सम्पदा भएको बताए । उनले भने, ‘सय वर्ष पुगेपछि सम्पदाको रुपमा लिइन्छ, त्यसैले सत्यमोहन जिवित सम्पदा हुन् । जिवित इतिहास हुन् ।’

मन्त्री डा. खतिवडाले राष्ट्र बैंकको नोट तथा सिक्का निस्कासनमा संस्कृतिविद् जोशीले लामो समयसम्म योगदान पुर्याएको चर्चा गर्दै त्यसको सम्मान स्वरुप पनि सिक्का निस्कासन भएको बताए ।

राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख वरिष्ठ कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाका अनुसार दोस्रो जनआन्दोलनभन्दा अघि जीवित छँदा राजा र राजपरिवारका सदस्यहरूको मात्र टकमरी गरिएका सिक्का निष्कासन हुने गर्दथ्यो ।

‘जोशी जीवित हुँदा नै राष्ट्र बैंकले यसरी सम्मान गर्न पाउनु नेपाल र नेपालीका लागि गौरवको विषय हो’, प्रवक्तासमेत रहेका निरौलाले भने, ‘सिक्का निष्कासनले जोशीको योगदानलाई अविस्मरणीय बनाउनेछ ।’