सत्ताको चास्नी एउटैलाई चाखिरहन दिनुहुँदैनः भट्टराई

पोखरा, मंसिर ९ ।
समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एक पटक गरेको क्रान्तिले बर्षौंसम्म ब्याज खाने दिन सकिएको बताए । नेकपा सरकारप्रति लक्षित गर्दै उनले समयानुकुल काम नगर्ने पार्टीलाई भोट नदिन आग्रह गरे ।

‘एकचोटी क्रान्ति गरेको थियो भनेर त्यसको ब्याज जिन्दगीभरी खान दियौं भने तिनैले प्रतिक्रान्ति गर्छन् । त्यसैले निरन्तर क्रान्ति गर्नुपर्छ भनेर माओले त्यसै भनेका होईनन्् । हिजोका क्रान्तिकारीहरु सत्तामा गएपछि सत्ताको चास्नीमा डुब्न पुग्छन्,’ उनले भने, ‘हाम्रै साथीहरु अहिले नेकपा बनेपछि संसारभरी कम्युनिष्ट शब्दलाई नै बदनाम गर्नेगरी भ्रष्टाचारका शिखर नाघिरहनुभएको छ । हामीले गल्तीबश गत निर्वाचनमा झण्डै दुई तिहाईको मत दियौं तर त्यो भ्रम थियो । उनीहरुले केही गर्न सकेनन् । बुझ्नुपर्छ ।’

सरकारले अवौं भ्र्रष्टाचार गर्दा पनि पोखराका सुकुम्बासीको समस्या समाधान गर्न नसकेको भन्दै कटाक्ष गरे । पैसा खर्च गरेर चुनाव जित्ने परिपाटीको अन्त्य हुनुपर्ने उनको भनाई छ ।

‘ठेक्कापट्टा गर्नेहरु, कमिशन खोरहरु र रातारात भ्रष्टाचार गरेर धनी हुनेहरुले मात्रै चुनाव जित्ने जुन अवस्था बन्यो । त्यसको विकल्पमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र सबै जाति क्षेत्र समुदायको समानुपातिक प्रतिनिधित्व हुने संसदले राजनीतिक स्थिरता र दीगो विकासको आधार तयार गर्छ भन्यौं । तर यो संंविधानमा समेटिएन,’ उनले भने, ‘यस्ता त्रुटीहरु संविधानमा भएकै कारण विभिन्न दलमा भएका मान्छेहरुले बाँकी कामलाई पूरा गर्दै शासकीय स्वरुपलाई परिवर्तन गर्ने, पहिचान सहितको संघीयता स्थापित गर्ने र लोकतन्त्रलाई पूर्णता दिन समाजवादी धार अघि सारेका हौं ।’ काँग्रेस र एमालेलाई पटक पटक ब्यहोर्दा पनि परिवर्तन नभएका कारण आफुहरु विकल्पमा अघि सरेको उनको तर्क छ ।

उनले नेकपा केही ठूलो जस्तो लागेपनि त्यो भ्रम मात्रै भएको टिप्पणी गरे । ‘गत निर्वाचनमा चरम राष्ट्रवादको नारा दिएर केपी ओलीको नेतृत्वमा नेकपा अगाडी आयो । मेरै मित्र प्रचण्ड जनयुद्धसँग थाकेर एमालेको चौतारीमा भारी बिसाउन जानुभो,’ उनले भने, ‘यसले केही ठूलो शक्ति जस्तो देखिन पुग्यो । जनताले त्यही भएर नेकपा डवललाई मत दिनुभो । तर दुई बर्षसम्म यो सरकारले केही दिन सकेन । त्यसैले अव भ्रममा नपर्नुस् ।’

समाजवादी पार्टीका उमेदवारलाई मत माग्न र सभा सम्बोधन गर्न पोखरा आएका भट्टराईले कालापानी क्षेत्रको अतिक्रमण हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक पहल नगरेको आरोप लगाए । ‘अहिले कालापानी र लिपुलेकको विषय उठिरहेको छ । यहाँका शासक बाहिर राष्ट्रियताको डंगा पिट्ने भित्र लत्रक्क परेर सत्ताको डरले लत्रिएर बस्ने ? यस्तो खालको नक्कली राष्ट्रवादबाट कहिले मुक्त हुने ?’ उनी भन्छन्, ‘चाहे राजा महेन्द्र हुन, चाहे अहिलेका केपी ओलीसम्म हुन् । त्यत्रो राष्ट्रवादको नारा उठाउने मान्छेले यो विषयमा किन केही गरिरहनुभएको छैन ?’

प्रधानमन्त्रीले भारतमा पठाएको पत्रले मात्रै सीमा समस्या समाधान नहुने भन्दै राजनीतिक पहल गर्नुपर्ने उनको सुझाव छ । उनले प्रधानमन्त्रीको कुटनीतिक पहल नपुगेको आरोप लगाउँदै लाछी बाउको संज्ञा दिए ।

भट्टराईले पुरानो सोच पालेर नबस्न र मधेस, थारुले पहिचान खोज्दा नआत्तिन खसआर्यलाई आग्रह गरे । ‘अहिलेसम्म देशमा ३८ जना प्रधानमन्त्री भए । म ३५ औं प्रधानमन्त्री भएँ । अहिलेसम्म प्रमुख कार्यकारी पदमा मरिचमान श्रेष्ठबाहेक जनजातिको प्रधानमन्त्री किन बनेन ? मधेसको मान्छे किन प्रधानमन्त्री भएको छैन ? महिला किन प्रधानमन्त्री भएको छैन ?, उनले प्रश्न गरे, ‘एउटा जनजातिको छोरो प्रधानमन्त्री होस्, एउटा दलित प्रधानमन्त्री होस्, एउटा मधेसी प्रधानमन्त्री होस् । म त्यो भएको देख्न चाहन्छु ।’