सगरमाथा आरोहणमा गएका १० को मृत्यु
काठमाण्डौं, जेठ ११ ।
एक हप्ताको अवधिमा सगरमाथा आरोहणका लागि गएका १० आरोहीको मृत्यु भएको छ । शनिबार बिहान ४४ वर्षीय वेलायती नागरिक रोबिन फिसरको मृत्यु भएसँगै यो एक हप्ताको अवधिमा सगरमाथामा मृत्यु हुनेको संख्या १० पुगेको सगरमाथा आरोहण अभियानका आयोजकले जनाएका छन् ।
शनिबार सगरमाथीको चुचुरोमा पाइला टेकेर फर्कंने क्रममा लडेर फिसरको ज्यान गएको बताइएको छ । एभरेस्ट परिवार एक्स्पिडिसनका अधिकारी मुरारी शर्माले भने, ‘हाम्रा गाइडले उनलाई बचाउन गरेको प्रयास सफल भएन । उनको निधन भयो ।’
शुक्रबारमात्र सगरमाथाको तिब्बती क्षेत्रमा एक आइरिस पर्वतारोहीको मृत्यु भएको थियो । सगरमाथा आरोहण अभियानका आयोजकले आफ्नो फेसबुक पेजमा ५६ वर्षीय आइरिस आरोहीको मृत्यु भएको पुष्टि गर्दै भनेको छ,‘उनी सर्वोच्च शिखरमा नपुगी फर्किएका थिए । उनको टेन्टमै मृत्यु भएको थियो ।’
गत हप्ता भारत, अमेरिका, अस्ट्रिया र नेपाल गरी ४ पर्वतारोहीको मृत्यु भएको थियो । केही दिन अगाडिमात्र अर्का एक पर्वतारोही सगरमाथा चढ्ने क्रममा लडेर बेपत्ता भएको जनाइएको छ । उनको समेत मृत्यु भएको आशंका गरिएको छ ।
सगरमाथामा ट्राफिक जामको घटनाले पर्वतारोहीको मृत्यु भएको खबरकाबीच यहाँ मृत्यु हुनेको संख्या बढ्दै गएको छ । यो हप्ता ४ जनाको सगरमाथामा ट्राफिक जाम भएका कारण मृत्यु भएको छ । बुधबार एक भारतीय र एक अमेरिकी नागरिकको सगरमाथामा ट्राफिक जामका कारण मृत्यु भएको थियो भने बिहीबार भारतका ५२ वर्षीया कल्पना दास र २७ वर्षीय नाहिल बागवानको ट्राफिक जामकै कारण मृत्यु भएको थियो ।
नेपालले यसपटकको बसन्त ऋतुमा ३ सय ८१ जना विदेशी पर्वतारोहीलाई सगरमाथा आरोहणको अनुमति दिएको छ । उनीहरुले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर तिर्छन् । प्रत्येक पर्वतारोहीले एक शेर्पालाई गाइडको रुपमा लाने गर्छन् ।
यसरी मानिसहरु धेरै भएपछि सगरमाथामा मानिसहरुको भिड हुन्छ । यसरी त्यहाँ जाम हुने गरेको छ । जाम हुँदा कयौं घन्टा एकै स्थानमा बस्दा पर्वतारोहीको स्वास्थ्यमा असर पुग्ने र मृत्युको खतरा निम्तने गरेको छ ।
नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार सगरमाथामा ट्राफिक जाम हुँदा एकै स्थानमा धेरैबेर बस्नुपर्ने हुन्छ । यसले लेक लाग्ने समस्या हुने र कयौंले ज्यान गुमाउने उनको भनाइ छ । नेपाल सरकारका अनुसार शुक्रबारमात्र नेपाली क्षेत्रबाट ६ सय पर्वतारोही सगरमाथाको शिखरमा पुगे । तिब्बती क्षेत्रबाट हाल १ सय ४० जनालाई सगरमाथा आरोहणको अनुमति दिइएको छ । अप्रिल र मे महिनालाई सगरमाथा आरोहण गर्ने उपयुक्त समयको रुपमा लिइन्छ ।