राजा मान्छ लोमान्थाङ

लोमान्थाङ, भदौ २२ ।
ध्वजापतकाले सजाईएको लोमान्थाङ दरबार । सन्दर्भः यार्तुङ मेला । बिगतझैं परम्परागत भेषभुषामा सजिएर घोड सवार गर्दै थिए, मुस्ताङका अघोषित राजा, जिग्मे सिंगी परवल विष्ट । वरिपरि उनका सुसारेहरु । अघिल्तिर मुख्य लामा दरबारको झण्डा लिएर घोडसवारको नेतृत्व गरिरहेका थिए । पछिल्तिर मुखिया, म्हिती (मुद्धा मामिला मिलाउन राजा र मुखियाले नियुक्त गरेका ब्यक्ति) लगायत गन्यमान्य थिए, घोडामै ।

गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट बाजागाजा सहित राजालाई स्वागत गर्न दरबारअघिको भिडमा देखिन्थे । दोश्रो दिन उसैगरी रानीको स्वागत थियो । घोडामा राजारानीलाई राखेर गाउँ डुलाउने पूरानो परम्परा अझै नासिएको छैन । यार्तुङ पर्व चल्दा पहिले दलित समुदायको जिम्मेवारी हुन्थ्यो बाजा बजाएर राजाको स्वागत गर्ने । लोकतन्त्र आएपछि जातीय विभेद भएको ठानेर बाजा बजाउन छाडिदिए, उनीहरुले । जसले गर्दा संस्कृति नै संकटमा पर्ने भयो । त्यसपछि बाजा बजाउने काम अचेल सांसद विष्ट र यूवा पुस्ताले गर्न थालेका छन् ।

लोमान्थाङका अधिकांश दलित (शिल्पी) हरुले आफ्नो थर पनि परिवर्तन गरेका छन् । ‘पहिले राजाको जोडबलमा ‘सानो जात’ले बाजा बजाउने चलन थियो । अचेल कुनै दवाव छैन । त्यसैले उनीहरुले बजाउन छोडिदिए,’ एक स्थानीयले भने, ‘बजाउन जान्नेहरुले आफुखुशी बजाउँछन् । यसमा जातको जिम्मेवारी छैन ।’ इन्द्रधारा मात्रै होईन त्यहाँ राजनीतिक पार्टीका अगुवाहरुपनि राजाकै सहयोगीका रुपमा हुन्छन् ।

लोमान्थाङ पूरानो ब्यवस्था ब्यूताउने भन्दा पनि संस्कारको संरक्षण गर्ने अभियानमा छ । ‘फेरि पहिलेकै जस्तो राजसंस्था जनताले खोजेका होईनन् । तर राजाप्रति जनताको विश्वास छ । आदरपुर्वक सम्मान गर्छन्् राजालाई,’ सांसद विष्टले भने, ‘उनीहरुले राजतन्त्र होईन, राजसंस्था चाहेका छन् । सांस्कृतिक राजा घोषणा गर्ने हो भने पर्यटन विकासमा पनि टेवा पुग्न सक्छ ।’

राजाका अघि जनप्रतिनिधिकोे भूमिका पनि कमजोर छ, लोमान्थाङमा । उनीहरु पूरानै जिम्मेवारीका काम गर्छन्, परेका बेला । नेपालमा गणतन्त्र आयो तर गणतन्त्रले उपल्लो मुस्ताङलाई खासैै छोएको छैन । गणतन्त्र आएपछि नेपालबाट संस्थागत रुपमैै अन्त्य भएको राजसंस्थाको प्रभाव मुस्ताङमा अझै बलियो छ । खासगरी चाडबाडका बेला राजाको उपस्थिती बढी सम्मानित हुन्छ । जनताले राजा मानेका सिंगी विष्ट आफुलाई राजा मान्न तयार छैनन् । तर पूर्वराजाले गर्दै आएका सबै परम्परा उनैले धानेका छन् । लोमान्थाङबासीहरु विष्टलाई सांस्कृतिक राजाको रुपमा भएपनि मान्यता दिईनुपर्ने बताउँछन् । कानुनी रुपमा नभएपनि उपल्लो मुस्ताङमा अझै राजसंस्था र मुखिया प्रथा जिवित छ ।

‘राज्यको उपस्थिति नै छैन । राज्यको उपस्थिती नभएपछि काठमाण्डौंमा लोकतन्त्र आएपनि, गणतन्त्र आएपनि, जुन तन्त्र आएपनि यहाँ नछुँदो रहेछ,’ स्थानीय यूवा छेवाङ गुरुङ भन्छन्, ‘मुस्ताङ राजाले पहिले सबै काम डाईरेक्ट्ली धेरै काम गर्नुहुन्थ्यो । अहिले नयाँ राजा हुनुहुन्छ । वहाँले नयाँ ब्यवस्था अनुसार चल्नुपर्ने बताउनुहुन्छ । तर गाउँघरमा मिलिजुली नै जाने हो । त्यो परम्परा हामीले जोगाएका छौं ।’

लोमान्थाङका नागरिकहरु राजालाई नै आफ्नो अभिभावकको रुपमा मान्दै आएका छन् । लोमान्थाङमा मनाईने सबैजसो चाडबाडमा परम्परागत भेषभुषामा सजिएर रानी सहित उपस्थित हुन्छन्, राजा । पहिले श्रीपेच लगाएर निस्किने राजाले आजभोली श्रीपेचको प्वाँख निकालेर टोपी मात्रै लगाउन थालेका छन् । फरक यतिमात्रै हो । राजसंस्थालाई पर्यटनसँग जोड्न सके लोमान्थाङ र नेपालकै लागि पनि नयाँ पर्यटकीय आकर्षण बन्ने धेरैको विश्वास छ । पूर्व युवराज बिष्ट पनि आफ्नो भूमिकालाई पर्यटनसँग जोडेर ब्याख्या गर्छन् । बाबुले गरेका जनउत्तरदायी कामका कारण अहिलेसम्म आफुले जनताबाट सम्मान पाएको उनी बताउँछन् ।

‘बुबाले गर्नुभएको सकारात्मक कामका कारण अहिले मैले पनि जनताबाट सम्मान पाएको छु । मेरो पनि उनीहरुप्रति माया छ । पहिले पूरानो ब्यवस्थाप्रति दुखेसो थियो । हामीले साँच्चै गल्ती ग¥यौं कि जस्तो लाग्थ्यो । राजनीतिले पोजिटिभ परिवर्तन गराउने आसा थियो,’ उनले भने, ‘तर त्यसो हुन सकिरहेको छैन । म अहिले निराश छु । नेपालका लागि भगवानले नेता दिनुभएको छैन ।’ आफु चाहीँ राजा बन्ने पक्षमा नरहेको उनले सुनाए ।

‘जनताले चाहेपनि त्यो सम्भव छैन । नयाँ ब्यवस्था आईसक्यो । यसैलाई एडप्ट गरेर जानुपर्छ,’ उनले भने । २०७२ सालमा मुस्ताङी राजा जिग्मे परवल विष्टको निधन भएपछि त्यहाँ नयाँ राजा चुनिएका छैनन् । राजाको छोरा नै राजा हुने चलन भएपनि राजकुमार गणतन्त्रमा राजसंस्था अशोभनिय हुने भन्दै राजा बन्न मान्दैनन् । धेरै पटक ब्यवस्था बदलियो तर माथिल्लो मुस्ताङमा राजाप्र्रतिको आस्था बदलिएन । राजाको पूरानै प्रभाव छ, यहाँ ।

कुरा ६ दशक अघिको हो । उत्तरी छिमेकमा विद्रोह चलिरहेको थियो । चीनले तिब्बतमाथी आक्रमण गर्दा त्यसको असर नेपालसम्म झरेको थियो । खम्पा विद्रोहबाट नेपाललाई जोगाउन तत्कालीन राजा महेन्द्रले मुस्ताङमा विष्टलाई राजा नियुक्त गरेका थिए । लोमान्थाङ दरबार उत्तरी सीमानाको संरक्षकको रुपमा चिनिन्थ्यो । २०१७ मा पञ्चायत शासन सुरु भएपछि नेपालबाट राजसंस्थाकै अवसान भयो । मुस्ताङ, सल्यान, बझाङ र जाजरकोटमा राज्य गर्दै आएका राजाहरु एकैपटक पदच्युत भए ।

तर मुस्ताङीले निर्णय टेरेनन् र उनीहरुकै जोडबलमा मुस्ताङमा मानार्थ राजा नियुक्त गरियो । मुस्ताङी राजसंस्थाको लामो इतिहास छ । २४ औं राजाको रुपमा जिग्मे परवल विष्ट नियुक्त भएपछि अहिलेसम्म पनि उनको प्रभाव जनताको मनबाट हट्न सकेको छैन । उनीहरुलाई कुनै ब्यवस्थाले बाँधेको होईन । मनबाट राजा हटाउन नसकेका हुन् । पूर्व युवराजलाई उनीहरु २५ औं राजाको रुपमा मान्छन् ।

राजसंस्थासँगै उपल्लो मुस्ताङमा मुखियाप्रथा पनि जिवित छ । उपल्लो मुस्ताङबाट हालसम्म एउटा मात्रै मुद्धा अदालतमा परेको छ, बाँकी सबै गाउँमै मिलापत्र हुन्छ । गाउँघरमा हुने झैझगडा र मुद्धा मामिला अझैपनि मुखियाले नै मिलाउँदै आएका छन् । दरबारको अंशबण्डाको मुद्धा जिल्ला अदालतबाट पुनरावेदन हुँदै सर्वोच्च अदालतसम्म पुगे छिनोफानो भयो ।

त्यसबाहेक अरु मुद्धा मिलाउने काम मुखियाले गरेका लोमान्थाङका मुखिया ज्ञानेन्द्र बिष्टले बताए । ‘गाउँको पूरानो रितिरिवाज हो । रिति तोड्नु हुँदैन भन्ने जनताको सोंच र माग छ । त्यसैलाई धान्ने काम हामीले गरेको हो,’ विष्ट भन्छन्, ‘बरु यसलाई केही परिमार्जन चाहीँ गर्नुपर्छ । जनतालाई कसरी राहत दिन सकिन्छ भन्ने सोंच मुखियाहरुले पनि राख्नुपर्छ । यसले गर्दा जनविश्वास झनै बढेर जान्छ ।’

मुद्धा मामिलामा भने राजाको प्रत्यक्ष भूमिका रहँदैन, अहिले । पूर्व राजकुमार विष्ट आजभोली रिसोर्ट सञ्चालन गरेर बसेका छन् । राजसंस्था नरहेपछि दरबारभित्र काम गर्नेहरु पनि घटाईएको छ । दरबारले पाल्ने घोडाहरु बेचिएको छ । सांस्कृतिक राजा नियुक्त गर्ने बिषयमा धेरैजसो सहमत छन् । केही नेताहरुले भाषण गर्दा पनि लोमान्थाङमा ‘हिडन किङडम’ रहेको बताउँदै आएका छन् ।