मेक्सिकोमा शक्तिशाली भूकम्प, १३० को मृत्यु
एजेन्सी, असोज ४ ।
मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १३० जनाको मृत्यु भएको छ । राजधानीमै दजनौं घरहरु भत्किएका छन् । अहिले खोजी तथा उद्दार कार्य जारी छ । स्कुलका भत्किएका भवनहरुमा बालबालिका फसेको आशंका गरिएको अधिकारीहरुले बताएका छन् ।
७.१ रेक्टर स्केलको भूकम्पले राजधानी मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको छ । मंगलबार त्यस्तो समयमा भूकम्प गयो, जतिबेला मेक्सिको सिटीमा मानिसहरु भूकम्प आएको समयमा कसरी उद्दार गर्ने भनेर अभ्यास गरिरहेका थिए ।
मेक्सिकोमा ३२ वर्षअघि विनाशकारी भूकम्प गएको थियो, जसमा १० हजार मानिसले ज्यान गुमाएका थिए । यसै महिना ८.१ रेक्टर स्केलको भूकम्प देशको दक्षिणी भागमा गएको थियो, जसमा ९० जनाको मृत्यु भएको थियो ।
मंगलबारको भूकम्पको केन्द्र पुएब्ला प्रान्तको एन्टेसिगो नजिकै थियो । यो इलाका मेक्सिको सिटीबाट १२० किलोमिटरको दुरीमा छ । भूकम्पका कारण केहीबेर मेक्सिको सिटीको एयरपोर्ट समेत केहीबेर बन्द गरिएको थियो भने शहरको सबै घर खाली गरिएको थियो ।
राष्ट्रपति एनरिक पेना निएटोले मानिसहरुलाई सडकमा नबस्न आग्रह गरेका छन् ताकि उद्दार कार्य प्रभावित नहोस् ।