महराविरुद्ध अदालतमा मुद्दा, साढे ७ वर्ष सजाय माग

काठमाण्डौं, कार्तिक १४ ।
निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबरजस्तीकरणी उद्योग अन्तर्गत अभियोगपत्र दायर भएको छ । महरालाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएसँगै सरकारी वकिल कार्यालय काठमाडौँले मुद्दा दायर गरेको हो ।

महरामाथि जबरजस्तीकरणी उद्योग अन्तर्गत मुलुकी अपराध संहिता अन्तर्गत दल २१९ को उपदफा १ र २ बमोजिम सजाय मागदाबी गरिएको छ । जसमा जबरजस्तीकरणी उद्योग र फौजदारी कसुर सजायको माग गरिएको छ। फौजदारी कसूर सजाय अन्तर्गत सोही ऐनको दफा १५ को २ र ३ को ङ अनुसार सजाय माग गरिएको हो ।

यो दुबै जोड्दा महरामाथि साढे ७ वर्ष कैद मागदाबी गरिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए । सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गर्न खोजेको आरोप महरामाथि छ ।

महरामाथि अनुसन्धान गरी गत शुक्रबार प्रहरीले कैद तथा जरिवाना हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । महरा गत असोज १८ गते पक्राउ परेका थिए । उनीविरुद्ध शाहीले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा जाहेरी दिएपछि महरा बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका थिए ।