भ्रष्टाचार आरोपमा पोखरा महानगरका विज्ञ भरतराज पहारीलाई ९८ लाख जरिवाना, १० महिना जेल

पोखरा, मंसिर १२ ।
पुल्चोक इञ्जिनियरिङ कलेजका तत्कालीन डिन समेत रहेका डा. भरतराज पहारी कारबाहीमा परेका छन् । अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतले उनलाई झण्डै एक बर्ष जेल र करिब १ करोड रुपैयाँ जरिवाना सुनाएको हो ।

दुईबर्ष अघि अकुत सम्पत्ति कमाएको आरोपमा उनी विरुद्ध अख्तियारमा उजुरी परेको थियो । २०७३ साल साउन २४ मा परेको उजुरीको सुनुवाई गर्दै उच्च अदालतका बरिष्ठ न्यायधीश बाबुराम रेग्मीको अध्यक्षतामा भएको बहसमा न्यायधिशहरु रत्नबहादुर बागचन्द र चण्डिका ढकाल समेतको इजालसले आर्थिक र जेल सजाएँ सुनाएको अख्तियारले जनाएको छ ।

पहारीको मुद्धामा नेपाल सरकारले पुनरावेदन गरेको थियो । उनीसँगै उनकी श्रीमति विरुद्ध पनि उजुरी परेको थियो । उनै पहारी हाल पोखरा महानगरपालिकाको भवन मापदण्ड सम्बन्धी विज्ञ समितिका संयोजक समेत हुन् ।