भोलि मन्त्रिमण्डल हेरफेर गरिने, को होलान् नयाँ मन्त्री ?

काठमाण्डौं, मंसिर १ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । सम्भवत भोलि नै मन्त्रिपरिषद् पुनर्गठन हुनेछ । आइतबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो ।

तर कुन कुन मन्त्रीलाई हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने कुनै छलफल भएन । सचिवालयका एक सदस्य भन्छन्, ‘नामहरु टुंगो लागेको छैन । भोलि विहानसम्म तय होला ।’

मन्त्रिपरिषद पुनर्गठन गर्दा कृषिमन्त्री चक्रपाणि खनाल, महिला वालवालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, युवा खेलकुदमन्त्री जगत विश्वकर्मा, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र उद्योगमन्त्री मात्रिका यादवलाई विदा दिने सम्भावना छ ।

श्रममन्त्री गोकर्ण बिष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, वनमन्त्री शक्ति बस्नेत लगायतको सन्दर्भमा भने छलफल चलिरहेको उच्च स्रोतले जनाएको छ । स्रोतले भन्यो, कतिपय मन्त्रीको जिम्मेवारी हेरफेर हुनेछ । कम्तिमा ६र७ जना मन्त्रीलाई विदा दिएर केही अनुभवी र केही नयाँलाई जिम्मेवारी दिने गरी छलफल भइरहेको छ ।’