भत्काईयो प्यारापिट (फोटो फिचर)

धन बस्नेत
पोखरा, पुस १२ ।
१६ औं आहा रारा गोल्डकपको तयारी चल्दै छ । मैदान मर्मत सम्भार भईरहेको छ । तर गोल्डकपकै पुर्वसन्ध्यामा पोखरा रंगशालाको दर्शक प्यारापिट भने भत्काउन शुरु गरिएको छ । पोखरा रंगशाला फुटबल मैदानलाई अन्तराष्ट्रियस्तरको बनाउने निर्णय राष्ट्रिय खेलकुद परिषदले गरिसकेको छ । निर्णय अनुसार नै अबको एक वर्षभित्रमा २५ हजार दर्शक क्षमताको स्टील स्ट्रक्चर (फेब्रिकेटस)युक्त प्यारापिट निर्माण गरिने छ । त्यसको लागि परिषदले एक अर्बको बजेट लागतसहित ग्लोबल टेण्डर आह्वान गरिसकेको छ । ग्लोबल टेण्डरको अन्तिम प्रक्रियामा छ । छ वटा बिदेशी कम्पनीले निर्माणको चासो दिदैं अन्तिम विडिङमा छन् । कम्पनीको आवश्यक प्रस्तुती हेरी परिषदले केही दिनभित्रमा निर्माणको जिम्मेवारी छ वटा मध्ये एक कम्पनीलाई सुम्पिने छ ।

पोखरामा महिला साफ फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय भईसकेको छ । त्यो बाहेक अन्य चार खेल पनि खेलाउने निर्णय भएको छ । आवश्यक पुर्वाधारस्वरुप प्यारापिटसहितको फुटबल मैदान बनाउने लक्ष्यमा परिषद अगाडि बढेको हो । “महिला साफको तयारी स्वरुप पुर्वाधार निर्माण शुरु गर्न प्यारापिट भत्काउन थालियो ।” कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने–“टेण्डर प्रक्रिया टुंगिएपछि कम्पनीलाई काम गर्न सहज र छिटो होस भन्ने उद्देश्यले भत्काउन शुरु गरियो ।”
प्यारापित भत्काउन ४३ लाख विनियोजन गरिएको छ । नयाँ पुर्वाधारको लागि समय पनि निकै कम छ । समयमै पुरा गर्नुपर्छ । प्यारापिट भत्काएपछि कम्पनीलाई सहज हुने छ । तर गोल्डकपमा उपस्थित हुने दर्शकलाई सास्ती हुन्छ । पुसको मसान्तसम्म भत्काई सकिने खेलकुद विकास समितिले जनाएको छ ।

अन्तराष्ट्रिय क्षेत्रमा प्यारापिट “स्टिल स्ट्रक्चर”मा निर्माण गरिदैं आएको छ । जुन सुरक्षाको दृष्टिकोणले पनि उपयुक्त हुने इन्जिनियर प्रनिस ताम्राकारको भनाई छ । प्यारापिट फोल्डिङ सिष्टमको हुन्छ । माथि छत रहने छ । प्यारापिटको आयु फलामसँग निर्भर रहने इन्जिनियर ताम्राकारको भनाई छ । ट्रयाक अन्तराष्ट्रिय मापदण्ड अनुसारको सिन्थेटिक बनाईने छ । एथलेटिक्स अन्तर्गतको ११० मिटरको हर्डल्स प्रतिस्पर्धा लागि ट्रयाक निर्माण गरिने टेण्डरमा उल्लेख छ । पहिलो चरणमा दर्शक प्यारापिट भत्काउन शुरु गरियो । भिआईपी प्यारापिट भने आहा रारा गोल्डकप लगत्तै भत्काईने छ । प्यारापित जीर्ण थिए । भूकम्पले हल्लाएको थियो । भूकम्प पछि इन्जिनियरले रातो स्टीकर समेत लगाईदिएका थिए । यद्यपी दुई वर्ष भने सोही प्यारापिटमा बसेर दर्शकले गोल्डकपको मजा लिए । प्यारापिट २०३९ सालमा निर्माण गरिएको हो । २०३८ सालमा निर्माण शुरु गरी एकवर्षभित्र सकिएको थियो । अर्को वर्ष (२०४०) सालमा पोखरामा दोस्रो राष्ट्रिय खेलुद प्रतियोगिता आयोजना गरिएको थियो । दोस्रो राष्ट्रिय खेलकुद आयोजना गरिएको पनि ३५ वर्ष वित्यो ।