बसको ढोकाबाट खसेर एकजनाको मृत्यु, एकजना घाईते

रामेछाप, बैशाख १६ ।
आइतबार विहान दोलखाबाट काठमाडौं यात्रु लिएर हिडेको अरनिको यातायात सेवा समितिको बा. ३ ख ३२६१ नम्बरको बसको ढोकाबाट खस्दा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । आइतबार विहान बसमा चढेर सदरमुकाम मन्थली आउँदै गरेका मन्थली नगरपालिका २ टेकानपुरकी २२ बर्षीया सुमित्रा कार्की र १६ बर्षीया मनिषा कार्की गाडीको ढोकाबाट खसेका हुन् ।

गाडी चढेर ढोकाकै छेउमा उभिएका उनीहरु केही समयमै सडकको मोडमा गाडी मोडिने क्रममा खसेका हुन् । गाडीबाट खसे लगत्तै उनलाई गाडीले ठक्कर दिएको थियो। घाइते दुबैलाई मन्थली स्थित तामाकोशी सहकारी अस्पतालमा उपचार पश्चात थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको थियो ।

उपचारका लागि लैजादै गर्दा सुमित्रा कार्कीको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए । अर्की घाइते मनिषा कार्कीको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । गाडी र सवारी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिए राखेको प्रहरीले जनाएको छ ।

File Photo