बजेटमाथी विपक्षीको गुनासो–‘सरकारले कनिका छरेर जनता झुक्यायो’

पोखरा, बैशाख २१ ।
प्रदेश ४ का अर्थमन्त्री किरण गुरुङले संसदमा प्रश्तुत गरेको बजेटप्रति विपक्षी दलले चाहीँ सरकारले जनतालाई झुक्याएको गुनासो गरेका छन् । काँग्रेस सांसद प्रकाशचन्द्र दवाडीले जनतालाई कनिका छरेर सरकारले झुक्याएको बताए । ‘प्रदेश समृद्ध र नमुना बनाउन योजना छनौट गरेर बजेट विनियोजन गर्नुपर्छ । अमुर्त बजेट बाँडेर जनता झुक्याउन पाईंदैन, उनले भने–उत्पादन र आम्दानीका लागि बजेट खै ? कनिका छरेर नमुना प्रदेश बन्दैन ।’

प्रदेश सरकारले आफ्नै रेडियो र टेलिभिजन चलाउने विषयप्रति पनि उनले कटाक्ष गरेका छन् । गणतन्त्र आएको देशमा सरकारले रेडियो, टिभी नचलाउने भन्दै उनले ब्यवसाय नगर्न सुझाव दिए । गोरखापत्र र नेपाल टेलिभिजनलाई नै नीजिकरण गर्नुपर्ने कुरा उठेका बेला सरकारले आफ्नो मातहतमा सञ्चारमाध्यम सञ्चालन गर्दा जनताका कुराहरु समेटिन नसक्ने उनको भनाई छ । कांग्रेसकै अर्का प्रदेशसभा सदस्य विन्दुकुमार थापाले सरकारले व्यवसाय गरेर बस्न नहुने बताए । ‘मिडिया चलाउन नीजि क्षेत्रलाई दिउँ । सरकारले चलाएर हुँदैन, उनी भन्छन्–पहिले पनि मिडिया सञ्चालनमा नअल्झिन सुझाव दिएका हौं । सरकारले टेरेन ।’

बजेटमाथी छलफल गर्ने क्रममा सांसदहरुले आफ्नो क्षेत्रमा बजेट कम भएको र योजना नसमेटिएको गुनासो गरेका थिए । एमालेका कृष्णबहादुर थापाले बजेट समसामयिक र उत्कृष्ट भएपनि नीति तथा कार्यक्रममा परेका केही बिषयहरु छुटेको बताए । उनले ऐतिहासिक बजेटले प्रदेश विकासको ढोका खोलेको प्रतिक्रिया दिए । काँग्रेसका कृष्णचन्द्र नेपालीले नारायणीको कटान रोक्न तत्कालै बजेट ब्यवस्था गरी अध्ययन थाल्न आग्रह गरे । माओबादीका रामजीप्रसाद बरालले सुकुम्बासीको पक्षमा ठोस कार्यक्रम नबनेको गुनासो गरे ।

जनमोर्चाका कृष्ण थापाले युवा लक्षित कार्यक्रममा सरकारले गम्भीर भएर कार्यक्रम प्रश्तुत गर्न नसकेको बताए । उनले धर्म निरपेक्ष देशको रुपमा संविधानले स्थापित गरिसकेको अवस्थामा बौद्ध र हिन्दु धर्मका गुरुलाई ल्याएर सम्मेलन गर्नु उचित नभएको भन्दै सच्याउन आग्रह गरे । नयाँशक्तिका हरिशरण आचार्यले बजेट सरकारले भनेजस्तो आँखीझ्याल र अर्जुनदृष्टि नभएको बताए । ‘सरकारले भनेजस्तो यो बजेट आँखिझ्याल होईन, उनले भने–औंसे छर्केर चोख्याउन खोजेजस्तो जताततै समेट्ने नाममा गतिलो कार्यक्रम बन्न सकेन ।’ माओवादीकी आशा कोइरालाले पूराना र अधुरा योजनामा सरकारको ध्यान पुग्न नसकेको गुनासो गरिन् ।

बजेटबारे सांसदहरु राजीव पहारी, दीपक कोइराला, प्रभा कोइराला, मनकुमारी गुरुङ, जुनादेवी नेपाली, मीनप्रसाद गुरुङ, दीपक थापा, दोवाटे विश्वकर्मा, विनोद केसी, कोपीला बोहरा, रामबहादुर गुरुङ, मेखलाल श्रेष्ठ, मिना गुरुङ लगायतले आफ्नो सुझाव र समर्थन गरेका थिए । अधिकांशले लक्षित बर्गलाई बजेटले समेट्न नसकेको प्रति गुनासो गरे । गुनासो सुनुवाई गर्दै अर्थमन्त्री किरण गुरुङले सीमित श्रोतलाई भाग लगाउँदा समस्या भएको भन्दै आगामी बजेटको आधार तयार गर्ने गरी मात्रै विनियोजन गरिएको बताए ।

‘हामीसँग कनिका भएपछि कनिका नै बाँड्ने त हो नि । कनिका पाएपछि कहाँबाट सुनको डल्ला छर्नु ? उनले भने–राजश्व उठाएर अर्को बर्ष धेरै बजेट बाँडफाँट गरौंला । अहिले यसको कार्यान्वयनमा सघाउनुस् ।’ बजेट कार्यान्वयनको समय धेरै नभएको भन्दै विनियोजित बजेट खर्च गर्ने वातावरण मिलाउन सांसदसँग उनको आग्रह छ । ५ लाख भन्दा तलका योजनाहरु नभएका र सबै कामहरु कार्यविधी अनुसार नै गरिने हुँदा कार्यकर्ता पोस्ने बजेट नभएको उनले बताए । यसअघि सांसदहरुले बजेट कार्यकर्ता पोस्नका लागि आएको टिप्पणी गरेका थिए ।
अर्को एक प्रशंगमा उनले बृद्धभत्तालाई रिप्लेस गरेर सामाजिक भत्ताको रुपमा वितरण हुनुपर्ने बताएका छन् ।

‘नेपालमा बृद्धभत्ता खानेले १ पैसा राज्यकोषमा जम्मा गरेको छैन । राज्यकोषमा जम्मा नगर्ने अनि बृद्धभत्ता भनेर बाँढ्ने हो भने मुलुक समृद्ध हुन सक्दैन, उनले भने–सबैले कामै नगरी सुतिसुति खाने हो भने ढुकुटीमा कसले जम्मा गरिदिन्छ ? ढुकुटीमा पैसै नभए मुलुक कसरी समृद्ध हुन्छ ?’ नागरिकता लिएपछि राज्यप्रति कर्तब्यनिष्ठ भएर कर तिर्न पनि मन्त्री गुरुङको आग्रह छ । बजेटमाथी छलफल सकिएपछि मन्त्री गुरुङले विनियोजन विधेयक प्रदेशसभामा पेश गरेका छन् । विधेयक पास गर्नका लागि शुक्रबार ३ बजे बैठक डाकिएको छ ।