प्रेस युनियन कास्कीको अधिवेशन फागुन ७ गते
![](http://dnanepal.com/wp-content/uploads/2019/01/nepal-press-union-e1564937399582.jpg)
पोखरा, माघ ९ ।
नेपाल प्रेस युयिनयन कास्कीको नवौं अधिवेशन फागुन महिनाको पहिलो साता हुने भएको छ । नेपाल प्रेस युनियन कास्कीको बुधबार वसेको कार्यसमिति वैठकले अधिवेशन फागुनको ७ गते गर्ने निर्णय गरेको हो ।
अधिवेशनको उद्घाटन नेपाली काँग्रेसका सभपाति पूर्ण प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालले जानकारी दिए । अधिवेशनमा काँग्रेसका नेताहरुको पनि सहभागिता रहने छ ।
अधिवेशनलाई सफल बनाउका लागि विभिन्न उपसमिति गठन गरेर अगाडि बढ्ने बरालले जानकारी दिए । अधिवेशनको मिति घोषणासँगै सदस्यता नविकरण, नयाँ सदस्यता वितरण तथा आन्तरिक कार्यमा हामी तिव्र गतिमा अगाडि बढेका छौं’,अध्यक्ष बरालले भने,‘अधिवेशन सफल पार्नका लागि प्रेस युनियनका सम्पूर्ण सदस्यहरुलाई क्रियाशिल भएर लाग्न अनुरोध गर्दछौं ।’
प्रेस युनियनमा आवद्ध सदस्यहरुलाई समयमा नै आएर सदस्यता नविकरण गर्न तथा नयाँले पनि नयाँ सदस्यता लिन सचिव प्रकाशचन्द्र सापकोटाले आग्रह गरेका छन् ।
अधिवेशनकै अवसरमा नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार कविर राणा र समिर जंग शाहलाई संयुक्त रुपमा प्रदान गरिने छ ।
पुरस्कारको राशि ३५ हजार पाँच सय ५५ रुपैयाँ दोसल्ला र सम्मान पत्र रहेको छ । युनियनको कास्की शाखाले स्थापना गरेको पत्रकारिता पुरस्कार एवं पत्रकार कल्याण कोषबाट प्रदान गरिन लागेको यो दोस्रो पुरस्कार हो । यस अघि पहिलो पुरस्कार पोखराका अग्रज पत्रकार गंगाधर पराजुलीलाई प्रदान गरिएको थियो ।
नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको पत्रकारिता पुरस्कार एवं पत्रकार कल्याण कोषमा १२ लाख रुपैयाँ रहेको छ । कोषबाट प्राप्त व्याजबाट पत्रकारहरुलाई पुरस्कृत गर्ने तथा आर्थिक सहयोग गर्ने लक्ष्य राखिएको छ ।