प्रहरीको कुटाईले गलकोटका सोमको पिसावनली फुट्यो, पोखरामा उपचार हुँदै
बागलुङ, माघ २ ।
प्रहरी जवान प्रेम विष्ट र बुद्ध थापाको कुटाइबाट गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षे सोमबहादुर बस्नेत गम्भीर घाइते भएका छन् । घाइते बस्नेतलाई स्थानीय निजी अस्पतालमा सामान्य उपचारपछि पोखरा लगिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
पोखराको फेवासिटी अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको बस्नेतको श्रीमती कृष्णकुमारीले जानकारी दिइन् । बस्नेतको पिसाब नली फुटेको छ । कुटपिटपछि शरीरमा रगत धेरै जमेकाले त्यो निकालेर उनको अपरेसन गरिएको अस्पतालले जनाएको छ ।
स्थानीय बासिन्दाले प्रहरीले सामान्य विषयमा निर्घात कुटपिट गरेको भन्दै घटनामा संलग्न प्रहरीलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।