प्रधानमन्त्री सचिवालय सदस्यहरुको सामूहिक राजीनामा, यी हुन् प्रधानमन्त्रीका ४ असन्तुष्टि

काठमाण्डौं, कार्तिक २५ ।
प्रधानमन्त्रीले नै असन्तुष्टि व्यक्त गरेपछि उनका सचिवालयका सबै सदस्यले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्रीले शुक्रबार सल्लाहकार र सचिवालयका सदस्यसँगको छलफलमा आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए ।

’प्रधानमन्त्रीले नै असन्तुष्टि व्यक्त गरेपछि हामीले छलफल र्गयौं र सामूहिक राजीनामा बुझायौं’, राजीनामा दिने मध्येका एक सदस्यले भने । छलफलमा एकरदुई सदस्यको अनुपस्थिति रहेको उनले बताए । राजीनामा कहिलेदेखि लागू हुने विषयमा उनले खुलाउन चाहेनन् ।

यद्यपि, प्रधानमन्त्रीले सबैको राजीनामालाई स्वीकार नगर्ने र केहीलाई भने सचिवालय सदस्यको रुपमा निरन्तरता दिने सम्भावना पनि छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस सल्लाहकार कुन्दन अर्याल, सूचना प्रविधि सल्लाहकार अस्गर अली छन् । सचिवालयमा अन्य सदस्य पनि छन् ।

पछिल्लो छलफल

प्रधानमन्त्रीले शुक्रबार सचिवालयका कर्मचारीसँग छलफल गरेका थिए । उनले त्यहाँ आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए । त्यहाँ उनले सल्लाहकार र सचिवालय सदस्यकै कारणले आफ्नो अनावश्यक आलोचना भएको बताएका थिए ।

छलफलमा उनले सचिवालयका कर्मचारीको क्षमतादेखि सार्वजनिक अभिव्यक्तिसम्मलाई असन्तुष्टि व्यक्त गर्ने आधार बनाएका थिए । विशेषगरी प्रधानमन्त्री ओलीले चार विषयलाई केन्द्रमा राखेर आलोचना गरेको एक सहभागीले बताए ।

पहिलो, विषयगत क्षमताको अभाव । दोस्रो, सल्लाहकारको सार्वजनिक रुपमै अन्टसन्ट बोल्ने बानी । तेस्रो, पार्टीभित्रै सल्लाहकारको भूमिकालाई लिएर आलोचना बढ्दै गएको । र चौथो, प्रोटोकल र अथुरिटी ब्रिफिङ भएन ।

हुन पनि प्रधानमन्त्रीका कतिपय सल्लाहकार आफ्नो विषयगत दक्षताको प्रयोगभन्दा सामाजिक सञ्जालमा विवादित अभिव्यक्ति दिएर आलोचित हुने गरेका छन् । जस्तो कि, केही समयअघि प्रधानमन्त्रीमा मुख्य सल्लाहकार विष्णु रिमालले बिम्ब प्रयोग गर्दै सरकारको आलोचकहरुलाई छौंडा भनेका थिए । नरम र जवाफदेही हुनुपर्ने अपेक्षा गरिएका सल्लाहकारहरु दम्भी हुने गरेकोमा पनि आलोचना हुने गरेको छ ।

कसप्रति लक्षित ?

बेलाबेलामा प्रधानमन्त्रीका सचिवालयको कमजोरीमाथि प्रश्नहरु उठ्ने गरेका थिए। प्रधानमन्त्रीलाई सचिवालयकै सदस्यहरुले थप विवादित बनाउने गरेको विश्लेषण पनि हुने गरेकै थियो । जसकारण, प्रधानमन्त्रीलाई सल्लाहकार फेर्न समेत सुझाव समेत व्यक्त हुने गरेका थिए। तर प्रधानमन्त्रीले त्यसप्रति चासो व्यक्त गरेका थिएनन् ।

यद्यपि, शुक्रबारको छलफलमा प्रधानमन्त्री कसैप्रति प्रत्यक्षरुपमा लक्षित भएका थिएनन् । न त उनले राजीनामा शब्द नै उच्चारण गरेका थिए । ’प्रधानमन्त्रीले राजीनामा शब्द उच्चारण गर्नुभएन । तर, विकल्प सधैं रहन्छ । यसबारे सोच्नुस् भन्नुभयो’, ती सहभागीले बताए ।

प्रधानमन्त्रीको शैली ’बुझ्नेलाई इशारा काफी छ’ भन्ने खालको थियो । उनकै अनुसार प्रधानमन्त्रीको असन्तुष्टि मुख्यगरी दुई सल्लाहकारमाथि थियो । पहिलो, प्रेस सल्लाहकार कुन्दन अर्याल । दोस्रो, परराष्ट्र सल्लाहकार राजन भट्टराई । तर, अन्य सदस्य प्रतिचाहिँ सन्तुष्ट व्यक्त गरेका भने होइन ।

’प्रधानमन्त्रीको असन्तुष्टिपछि शनिबार नै हामी सचिवालयका सदस्यहरुले करिब ४५ मिनेट छलफल र्गयौं । त्यसपछि सामूहिक राजीनामाको निष्कर्षमा पुगिएको हो’, ती सदस्यले भने । प्रधानमन्त्रीले घटना नै उदारहणको रुपमा लिएर आफ्नो पछिल्लो उपचारबारे सही सूचना प्रवाह नभएका कारण आम रुपमा भ्रम फैलिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

ओली उपचारका लागी ग्राण्डी अस्पताल भर्ना भएका बेला प्रधानमन्त्रीका सचिवालयप्रति सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा चर्को असन्तुष्टि सार्वजनिक भएका थिए । असन्तुष्टि व्यक्त गर्नेहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सूचना लुकाएको बताएका थिए । त्यस्तै, आफ्ना बाह्य भ्रमण तथा अन्य देशका प्रमुखहरुको भ्रमणका बेलामा सही समन्वय गर्न नसकेको प्रधानमन्त्रीको बुझाइ थियो । प्रोटोकलको राम्रो ब्रिफिङ हुन नसक्दा एसिया प्यासिफिक समिट जस्ता कार्यक्रममा पनि प्रधानमन्त्री विवादमा तानिएका थिए ।

त्यस्तै चीनका सीको दुई दिने नेपाल भ्रमणको बेलामा पनि प्रधानमन्त्रीसँग धेरै असन्तुष्टि रहेको थियो । आधिकारिक सूचना प्रवाहलाई सहज बनाउन नसकेको प्रधानमन्त्रीको आरोप थियो ।