प्रधानमन्त्री ओली पोखरामा (के–के छन् कार्यक्रम ?)

पोखरा, साउन ३ ।
प्रधानमन्त्री केपी शर्मा ओली विहिबार पोखरा आईपुगेका छन् । केही समयअघि पोखरा एयरपोर्टमा ल्याण्ड भएका उनलाई पोखरामा नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका छन् । उनले गण्डकी प्रदेशको सभालाई सम्बोधन गर्नेछन् ।

प्रदेशसभा गठन भएको ६ महिनापछि पहिलो पटक प्रधानमन्त्रीले सभालाई सम्बोधन गर्न लागेका हुन् । संविधान र नियमावलीमा प्रधानमन्त्रीले सम्बोधन गर्ने विषय स्पष्ट किटान छैन । यद्यपी सभालाई सम्बोधन गर्न कानुनी रुपमा प्रधानमन्त्रीलाई कुनै अवरोध छैन ।

विहिबार मध्यान्न १२.४० देखि २.१५ सम्म प्रधानमन्त्रीको सम्बोधन रहने प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको सम्बोधन सहित सबै कार्यक्रम अवरोध गर्ने तयारी गरेको थियो । तर प्रधानमन्त्रीको सम्बोधन यसअघि नै निर्णय भएको कार्यक्रम भएकाले अवरोध नहुने प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेलले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सदनलाई सम्बोधन गर्नुपुर्व पोखरा अन्तराष्ट्रिय विमानस्थलको अवलोकन गर्नेछन् भने पोखरा विश्वविद्यालयको सिनेटमा अध्यक्षता गर्नेछन् । त्यसपछि मन्त्रीहरुसँग भेटघाट गरी विहिबार नै काठमाण्डौं फर्किने कार्यक्रम छ । सम्बोधनको सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।