प्रदेशको नाम खोज्दै जिल्ला भ्रमणमा सांसदहरु

पोखरा, बैशाख ७ ।
प्रदेश नम्बर ४ को नामाकरणका लागि सांसदहरु जिल्ला तहमा जाँदैछन् । यही बैशाख ९ र १० गते ११ वटै जिल्ला सदरमुकाममा छलफल आयोजना गरिएको सुझाव संकलन समितिका सदस्य सांसद विन्दुकुमार थापाले जानकारी दिए । उनका अनुसार सबै जिल्लामा ९ र १० गते सरोकारवालासँग छलफल हुँदैछ ।
नामबारे सुझाव संकलनका लागि ५ वटा उपसमिति बनाईएको छ । संसद बैठकबाट ११ सदस्यीय समिति गठन भएर विभिन्न चरणमा छलफल गरिसकेको समितिले अब जिल्ला र राजनीतिक दलसँग सुझाव लिएर संसदमा प्रतिबेदन बुझाउने तयारी गरेको हो ।
५ वटा क्लष्टर मध्ये गोरखा र तनहूँमा सरिता गुरुङ र हरिशरण आचार्य जानेछन् । नवलपुर र स्याङजामा भगवतप्रकाश मल्ल र मीन प्रसाद गुरुङ, पर्वत र बागलुङमा सावित्रा राना र चन्द्रबहादुर बुढामगर, म्याग्दी र मुस्ताङका लागि दीपक कोइराला र कृष्ण थापा तथा लमजुङ र मनाङका लागि मधुमाया अधिकारी र धनञ्जय दवाडी पुग्नेछन् ।
समितिका सदस्य थापाका अनुसार बैशाख १० गते ५ बजेसम्म राजनीतिक दलले पनि आफ्नो सुझाव पठाउन सक्नेछन् । त्यसका लागि सबै दललाई पत्राचार भैसकेको थापाको भनाई छ ।