प्रदेश ४ मा थपिए ३ मन्त्री (को को भए नयाँ मन्त्री)

पोखरा, चैत १२ ।
प्रदेश नम्बर ४ को मन्त्रीमण्डलले पूर्णता पाएको छ । सोमबार ३ मन्त्री थपिएपछि सबै मन्त्रालयले मन्त्री पाएको हो । थपिएका ३ मन्त्रीमा किरण गुरुङ, नरदेवी पुन र विकास लम्साल छन् । गुरुङ आर्थिक मामिला तथा योजना मन्त्री, पुन सामाजिक विकास मन्त्री र लम्साल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका हुन् । उद्योग मन्त्रीमा यसअघि रामशरण बस्नेत थिए । बस्नेतलाई भौतिक पूर्वाधार मन्त्री बनाएर लम्साललाई उद्योग मन्त्रालयको जिम्मेवारी दिईएको हो । यसअघि नवलपुरका सांसद रोशन गाहा थापालाई मन्त्री बनाउने तयारी भएपनि किरण गुरुङ सरकारमा आउने मन गरेपछि गाहालाई पछि हटाईएको हो ।
नवनियुक्त मन्त्रीहरुले सोमबार नै पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख बाबुराम कुवँरले उनीहरुलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । प्रदेश ४ मा गएको फागुन ४ गते नै मन्त्रीपरिषद् गठन भएको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहित उद्योगमन्त्री बस्नेतले सँगै शपथ लिएका थिए भने सोही दिन माओबादी तर्फबाट हरिबहादुर चुमान र लेखबहादुर थापा मन्त्री बनेका हुन् । चुमान आन्तरिक मामिला तथा कानुन र थापा भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् ।