प्रदेश ४ को नाम तमुवान–मगरात नराखे छुट्टै सरकार चलाउने चेतावनी

पोखरा, असार १० ।
तमुवान–मगरात संघर्ष समितिले चाहीँ प्रदेशको नाम तमुवान–मगरात नभए समानान्तर सरकार चलाउने चेतावनी दिएको छ । आईतबार नदीपुरमा ¥याली सहित गएको टोलिले नामाकरण सहित अन्य माग राख्दै दवाव दिएको हो । संघर्ष समितिकी संयोजक तथा तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले आफुहरुले पहिचानको सम्मान गर्न आग्रह गरिरँहदा संघीयता र राज्यको पुनसंरचनाको मर्मलाई अपमान गरे प्रदेशको नाम आन्दोलनबाटै घोषणा गर्दै प्रदेश सरकार र प्रदेश सभा सञ्चालन गर्ने चेतावनी दिईन् । तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका प्रदेश संयोजक दलबहादुर गुरुङले माग सम्बोधन नभए प्रदेश सभा कब्जा गर्ने बताए ।

तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङले संघीयता र राज्य पुनसंरचनाको मर्म र आधारको सम्मान गर्न आग्रह गरे । उनले आफ्नो अस्थित्व रक्षाका लागि आदिबासी सडकमा आएको भन्दै माग सम्बोधन गर्न सुझाव दिए । तमुवान युथ भोलिन्टियर्सका संयोजक कृष्णकुमार गुरुङले गुमेको इतिहासको सम्मानका लागि तमुवान—मगराँत नामाकरण गर्नुपर्ने बताए । आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्मबहादुर गुरुङले संघीयता र राज्यको पुनंसंरचना विगतदेखि विभेदमा पारिएको भन्दै आदिबासीको सम्मान गर्न सुझाए ।

नेपाल मगर संघ कास्कीका अध्यक्ष पुर्णबहादुर रानामगर, ङ्योए तमु धिं लेखनाथका अध्यक्ष मनबहादुर गुरुङ, तमु प्ये ल्हु संघ कास्कीकी सचिव विष्णु गुरुङ लगायतले शान्तिपूर्ण आन्दोलनबाटै माग सम्बोधन नभए सशस्त्र आन्दोलन गर्ने चेतावनी दिएका छन् । बृहत धर्नामा नामाकरण तमुवान—मगराँत हुनुपर्ने, आदिवासी जनजातिका चाडपर्वमा प्राप्त विदा कटौती गर्न नपाईने, जनजातिका भाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने, आइएलओ १६९ कार्यन्वयन गर्न पनि माग गरिएको छ । तमुवान—मगराँत संघर्ष समितिकी संयोजक कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव आस गुरुङले गरेका थिए ।