पोखरामा यसरी समातिए मोस्ट वान्टेड अन्तराष्ट्रिय अपराधी

प्रकाश ढकाल
पोखरा, फागुन १० ।
लागू औषध र ठगी मुद्धाका अन्तराष्ट्रिय अपराधी दक्षिण कोरियन नागरिक सिउङ्ग वोन ली पोखरामा ५ दिनअघि पक्राउ परे । कास्की प्रहरीसँगको सहयोगमा लिलाई केन्द्रिय प्रहरीको टोलीले पक्राउ गरेको हो । होटलमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरि अध्यागमन विभागमा बुझाईएको छ । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) बाट रेड कर्नर नोटिसमा परेका उनी १ महिनादेखि नै पोखरामा लुकेर बसेका थिए । एम २५५११२९९ नम्बरको पासपोर्ट लिएर उनी नेपाल आएका थिए । पोखराको लेकसाईड स्थित फेमिली होम होटलको कोठा नम्बर २०१ मा प्रहरीले खानतलासी गर्दा फागुन ४ गते लि पक्राउ परेका हुन् ।
उनलाई कास्की प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)मा बुझाईसकेको छ । लिको साथमा ३ वटा मोवाईल, २ वटा ट्याव र एउटा ल्यापटप सहित झोला समेत नियन्त्रणमा लिएको कास्की प्रहरीका प्रबक्ता डिएसपी खड्कप्रसाद खत्रीले जानकारी दिए । लागूऔषध मुद्दामा अदालतले १० वर्ष कैद सजाय सुनाएका उनी हङकङ र कम्बोडियाको प्रहरीलाई झुक्याउँदै नेपाल छिरेका थिए । लामो समयको अनुसन्धानपछि पोखराबाट पक्राउ परेका उनलाई कोरिया पठाउने तयारी गरिएको छ । गत १० जनवरीमा नेपाल छिरेका लि त्यसको पर्सिपल्टै पोखरा आईपुगेका थिए ।
कसरी रिन्यु भो भिसा ?
नेपालमा उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट छिरेका हुन् । अनअराईभल भिसा लिएर आएका उनको माघ पहिलो साता नै भिसा अवधी सकिएको थियो । त्यसपछि अध्यागमनको कालो सूचीमा परेका उनले संक्रमणको मौका छोपी माघ ३ गते अध्यागमन कार्यालयबाट भिसा लिन सफल भए । पोखरामा प्रदेश प्रमुख भित्र्याउने चटारो थियो । अध्यागमन कार्यालयमा प्रदेशप्रमुख बस्ने भएपछि घर खाली गर्नमै कर्मचारीहरु ब्यस्त थिए । केही सामानहरु सारिसकेका थिए भने काम चाहीँ सोही कार्यालयबाट भैरहेको थियो । अध्यागमनले अचेल अनलाईन सिस्टममा फाराम भरेर मात्रै भिसा थप गरिदिन्छ । तर लि ले आफैले फाराम भरेर ल्याएका थिए । अध्यागमनको सिस्टमले काम नगरेपछि प्रमाणपुर्जा राखेर विना जाँचबुझ कर्मचारीले उनको भिसा थपिदिए ।
‘नियम पुर्याएर सबै कागजपत्र सहित निवेदन ल्याएका थिए । हाम्रो सिस्टमले काम नगरेपछि सामान्य सोधपुछ पछि उनको भिसा थपिएको हो, अध्यागमन कार्यालय पोखराका एक कर्मचारीले भने–ईन्टरनेटको खरावीका कारण केन्द्रले राखेको सूचना हेर्न पाईएन । कम्युनिकेस ग्याप त्यहीँनेर भएको हो ।’ भिसा थपेको अघिल्लो दिन अध्यागमन विभागले लि लाई ब्ल्याक लिष्टमा राखेको थियो । लि ले भोलिपल्ट १० बजे नै भिसा थप्नका लागि निवेदन बुझाएका थिए । ११ बजेतिर भिसा थपेर लि गईसकेपछि दिउँसो ३ बजेतिर विभागले फोन गरेर लिको बारेमा जानकारी गराएको थियो । अध्यागमन कार्यालयले त्यसलगत्तै वडा प्रहरी कार्यालय बैदाम र पर्यटन प्रहरीलाई खवर गरेर लिको फोटो उपलब्ध गराएको थियो । प्रहरीले निरन्तर पछ्याएपछि उनलाई पक्रन सफल भएको हो ।