‘पोखराको चाईनापुलबाट मोटरसाईकल सहित मान्छे बगाएर सेतीमा खस्यो !’, खाेजीमा प्रहरी परिचालन

पोखरा, असार १४ ।
शुक्रबार साँझ परेको अविरल बर्षापछि सडकमा बगेको भलले पोखरामा एउटा मोटरसाईकल सहित मान्छे सेती नदीमा झरेको भन्दै प्रहरीले खोजी थालेको छ । दुईवटा मोटरसाईकल बगेकोमा एकजनालाई तानेर निकालिएको र अर्को मान्छे मोटरसाईकल सहित सेतीमा झरेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए ।

सोही सूचनाको आधारमा प्रहरीले शनिबार विहानैदेखि खोजी गर्यो । तर हालसम्म भेटेको छैन । ‘सूचनाको आधारमा खोजतलास गरेको हो । कसैले किटानी दिएको छैन । लिखित निवेदन पनि छैन । कोही मेरो मान्छे हरायो भनेर भन्न पनि आएको छैन,’ कास्की प्रहरी प्रबक्ता डीएसपी राजन केसीले भने, ‘गणबाटै एक्सपर्ट बोलाएर खोजी गरिरहेका छौं । तर भेटिएको छैन ।’

घटनास्थलमा प्रहरीले अहिले पनि खोजी गरिरहेको छ । केही साताअघि पृथ्वीचोक आसपासमा नाला बनाउने भन्दै जमिन खन्दा पुल छेउको पाईम समेते उखेलेको थियो । त्यही पाईप उखेलिएपछि मान्छे बगाएको स्थानीय बताउँछन् ।

‘पहिले धेरै मान्छे बगाउँथ्यो । हामीले भनेपछि जिआई पाईप हालेको थियो । कसैलाई बगाएपनि त्यहाँ रोकिन्थ्यो र पछि निकाल्न मिल्थ्यो,’ सहारा क्लव पोखराका निवर्तमान अध्यक्ष बीरभद्र आचार्यले भने, ‘अहिले बार छैन । बगेको मान्छे सीधै सेतीमा गएर खस्छ ।’

Photo-Sudarshan Ranjit