पोखराका विद्युतीय तार अण्डरग्राउण्ड गरिने
पोखरा, असार ६ ।
पोखरा लेखनाथ महानगरपालिकाका विद्युतीय तारहरु अन्डरग्राउण्ड गरिने भएको छ । वडा नम्बर ४ ले आफ्नो वडाभित्र रहेका तारलाई अण्डरग्राउण्ड गर्ने योजना अघि सारेको हो । वडा तहका योजना छनौट गर्ने क्रममा विद्युतीय तार अन्डरग्राउण्ड गर्ने योजना प्रश्ताव गरिएको वडाध्यक्ष शंकर बास्तोलाले जानकारी दिए ।
‘जथाभावी तार टाँग्दा शहर नै कुरुप भैसक्यो । यसलाई ब्यवस्थापन गर्ने तयारी हाम्रो वडाले गरेको छ, उनले भने–आगामी बर्षका लागि काम गर्न तीन करोड माग गरेका छौं । बजेट आउने वित्तिकै अण्डरग्राउण्डको काम सुरु हुन्छ ।’ पहिलो चरणमा ३ किलोमिटर क्षेत्रभित्रका तारहरुलाई अण्डरग्राउण्ड गर्ने र त्यसपछि अन्य क्षेत्रमा पनि विस्तार गर्दै लैजाने बास्तोलाले बताए ।
योजना छनौट भैसकेकोले प्राथमिकताका साथ महानगरबाट कार्यान्वयन हुने गरी अण्डरग्राउण्ड गर्ने बजेट माग गरिएको उनको भनाई छ । तार ब्यवस्थित गर्नका लागि यसअघि नै वडा कार्यालयले सम्बन्धित निकायसँग बैठक बसेर निर्णय पनि गरिसकेको छ । पोखरामा विद्युतीय तारकै कारण पटक पटक मान्छेको ज्यान समेत जाने गरेको छ ।
पोखरालाई स्मार्ट सिटी बनाउने अवधारणा अनुसार विद्युतीय तार अण्डरग्राउण्ड पहिलो कार्यक्रम हुने वडाध्यक्ष बास्तोला बताउँछन् । ‘गफ गरेर स्मार्ट सिटी बन्दैन । त्यसका लागि काम गर्नुपर्छ, उनले भने–त्यसको सुरुवात वडा नम्बर ४ ले गर्छ । तार लुकाएर स्मार्ट सिटी अभियानको थालनी हुन्छ ।’
विद्युतीय तार अण्डरग्राउण्ड गर्ने बिषय धेरै पटक चर्चामा आएपनि अहिलेसम्म कसैले योजना बनाउन सकेका थिएनन् । वडा नम्बर ४ ले पहिलो पटक महानगरसँग तारलाई भूमिगत गर्नका लागि बजेट माग गरेको हो । प्रतिकिलोमिटर तार भूमिगत गर्न करिब १ करोड हाराहारीमा खर्च लाग्ने अनुमान गरिएको वडाध्यक्ष बास्तोलाले जानकारी दिए ।