पोखराका गुण्डा ललित गुरुङ पक्राउ
पोखरा, चैत २५ ।
गुण्डागर्दी र चन्दा असुलीको आरोपमा पोखराबाट ललित गुरुङ सहित एलजी ग्रुपका ३ पक्राउ परेका छन् । कास्की प्रहरीले पोखराको बैदामबाट तीनैजनालाई पक्राउ गरेको हो । उनीहरुलाई ‘एलजी ग्रुप’को नाममा गुण्डागर्दी र चन्दा असुलीको आरोप छ ।
उनीहरुले पछिल्लो समय म्यानपावर व्यवसायीदेखि उद्योगी तथा होटल व्यवसायीसँग चन्दा माग्ने र धम्क्याउने गरेको प्रहरीले बताएको छ । ललित तरुण दल लमजुङका उपसभापतिसमेत हुन् । प्रहरीले निगरानी गर्न थालेपछि उनी राजनीतिक संरक्षण खोज्दै तरुण दलको नेता बनेका थिए ।
उनीहरुको बारेमा अनुसन्धान चलिरहेको कास्की प्रहरीका प्रमुख एसपी अशोक सिंहले जानकारी दिए । पक्राउ पर्नेमा ललितसँगै शितलादेवीका २६ बर्षिय दीपेन्द्र परियार र पोखरा ५ का २५ बर्षिय संगम थापा छन् ।
उनीहरुलाई आईतबार नै म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । गुरुङ यसअघि पनि गुण्डागर्दीको आरोपमा पटक पटक पक्राउ परी छुटेका थिए ।