पोखरा महानगरमा वडा कार्यालयकै कम्प्युटर चोरी

पोखरा, भदौ १ ।
पोखरा महानगरपालिका वडा नम्बर १५ को कार्यालयमा गरिब, दुःखी र असहायका लागि संकलन गरिएको दान रकम नै चोरी भएको छ । कार्यालयको च्यानल गेटमा लगाईको ताला फोडेर कार्यालयभित्र रहेको दान पेटिका र एक थान कम्प्यूटरको मोनिटर चोरी भएको वडा अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।

दान पेटिकामा ८ देखि १० हजारसम्म जम्मा भईसकेको अनुमान उनले गरे । मोनिटर र दान पेटिकाको रकम गरी करिब २५ हजार बराबरको क्षति भएको पौडेलले बताए । विहान कार्यालय खोल्न जाँदा चोरी भएको थाहा भएको थियो ।

चोरी भएको थाहा पाउने वित्तिकै वडा प्रहरी कार्यालयमा जानकारी गराईएको र प्रहरीले घटनास्थलको निरिक्षण गरी मुचुल्का उठाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको र चोरी गर्नेको खोजी भईरहेको वडा प्रहरी कार्यालयका सई पूर्ण बहादुर क्षेत्रीले जानकारी दिए ।