पेचिलो बन्दै पोखरा उद्योग बाणिज्य संघको चुनाव, काँग्रेस-कम्युनिष्ट प्यानल
पोखरा, भदौ ३ ।
पोखरा उद्योग बाणिज्य संघको चुनाव असोज ६ र ७ गतेका लागि तोकिएको छ । चुनावी मिती तोकिएपछि उम्मेदवारबीच चुनावी सरगर्मी पनि निकै बढेको छ । यो चुनावमा पनि राजनीतिक रुपमा प्यानल बन्ने सम्भावना अधिक छ । यसअघि सहमतिमा नेतृत्व छान्ने तयारी भएपनि पछिल्लो समय सहमति भन्दा प्यानलमै चुनावी प्रतिश्पर्धा हुने लगभग टुंगिएको छ ।
श्रोतका अनुसार काँग्रेस तर्फबाट रवीनसन प्रजुलाई अध्यक्षमा अघि सार्ने बुझिएको छ । उनी हालका बरिष्ठ उपाध्यक्ष हुन् । यसअघि नारायण कोइरालालाई अध्यक्षमा लैजान तयारी गरिएपनि प्यानल मिलाउन र चुनाव जित्ने गरी तयारी गर्दा उनलाई बरिष्ठ उपाध्यक्षमा लैजाने श्रोतको भनाई छ । यद्यपी यो अन्तिम चाहीँ होईन ।
अर्की आकांक्षी विन्दु कोइराला सुवेदी र नारायण कोइरालाको पद मिलाउन सके अरु चाहीँ सजिलै मिल्ने श्रोत बताउँछ । यस्तै महासचिवमा हालका उपमहासचिव अर्जुन पोख्रेल, उद्योग तर्फको उपाध्यक्षमा गोकर्ण कार्कीलाई दोहो¥याउने र बाणिज्य तर्फको उपाध्यक्षमा हालका कोषाध्यक्ष पवन प्रजापति, कोषाध्यक्षमा सुरेन्द्र विजुक्छे तथा उपमहासचिवमा चिनु गुरुङलाई पठाउने बुझिएको छ ।
टीम बलियो बनाउने कुरामा एकमत छौं । ‘आन्तरिक रुपमा छलफल गर्दा पनि जसको पक्षमा राम्रो माहोल छ उसैलाई चुनावमा पठाउने सहमति भएको छ, श्रोत भन्छ–लगभग प्यालन बन्ने निर्णय भएको छ । उम्मेदवारमा केही कुरा मिलाउन बाँकी छ ।’ काँग्रेसतर्फको उम्मेदवारलाई मिलाउने जिम्मेवारी सांसद तथा पूर्व अध्यक्ष विन्दुकुमार थापालाई दिईएको छ ।
यता कम्युनिष्टको तर्फबाट हालका महासचिव दामु अधिकारी अध्यक्षको उम्मेदवार बन्ने लगभग पक्कापक्की भैसकेको छ । उनले पनि प्यालन बनाएर चुनावमा होमिने तयारी गरेका छन् । कम्युनिष्ट प्यानलको महासचिवमा किसान सुनार, उप महासचिवमा प्रेम भुजेलको नाम अघि आएको छ । यो समुहमा साविकको एकिकृत माओबादी पक्षबाट एक जना पदाधिकारी र तीन जना सदस्य ल्याउने गरी तयारी छ ।
दुई बर्षे कार्यकालका लागि २४ पदमा चुनाव हुन्छ । ४ सदस्य अध्यक्षले मनोनयन गर्नेछन् भने निवर्तमान अध्यक्षसहित २९ जनाको पूर्ण समिति तयार हुन्छ ।