पूरै समय अब आर्थिक क्रान्तिमा लगाउँछु : दाहाल

 

काठमाडौं, पुस १९ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले दलहरुको ध्यान अब आर्थिक क्रान्तिमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

अन्नपूर्ण–काठमाडौं समाजको तेस्रो वार्षिक साधारणसभाको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले राजनीतिक क्रान्ति पूरा भएकाले अब आर्थिक क्रान्तिमा लाग्नुपर्ने बताए ।

उनले आफ्नो पूरै समय अब आर्थिक क्रान्तिमा लगाउने पनि बताए ।

राजा–महाराजाले आफ्नो कर्तव्य निर्वाह नगरेकै कारण अहिलेको पुस्ताले चुनौतीको सामना गर्नुपरेको उनको भनाइ थियो ।

परिवर्तनका लागि आफूले सोचेजस्तो नभएको भन्दै उनले विकास र जनताको परिवर्तनको चाहनालाई आफूले तीव्रता दिने पनि बताए ।

नेपाल पर्यटन क्षेत्रको उत्कृष्ट गन्तव्य भएको भन्दै पर्यटन क्षेत्रको विकासका लागि सरकारको ध्यानकेन्द्रित भएको उनले उल्लेख गरे ।

उनले कास्कीको अन्नपूर्ण गाउँपालिका आफ्नो जन्मथलो भएका कारण त्यस क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सरकारले खेल पर्यटनको माध्यमबाट पर्यटन क्षेत्रमा योगदान गर्ने बताए ।

पर्यटन व्यवसायीहरुले भने पूर्वाधारको अभावका कारण पर्यटन क्षेत्रले गति लिन नसकेको गुनासो गरेका थिए ।

(ईमेजखबरबाट साभार)