‘नेकपा जनताको दुखसुखको पार्टी’
पोखरा, कार्तिक २७ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेकपाका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गरेको छ । पोखरा ९ का मतदातामाझ नेकपा नेता एवं उम्मेदवारहरुले जनताको आँसु पुछ्ने, दुखसुखको पार्टी नेकपामात्रै भएको दाबी गरे ।
चुनावी अभियानका क्रममा वडाका विभिन्न ठाउँमा बुधबार उम्मेदवार विद्या भट्टराई पुगिन् । नेकपाले उपनिर्वाचन हुने कास्कीको पोखरा महानगरका ११ वटै वडामा विभिन्न कार्यक्रम गरिरहेको छ ।
विद्यालाई ९४ वर्षीया बालकुमारी पराजुलीले विजयको शुभकामदा दिइन् । पोखरा बसपार्कको कार्यक्रममा नेकपा कास्की अध्यक्ष कृष्ण थापाले विकास, निर्माणका कामको नेतृत्व नेकपा सरकारले गर्ने र सुरु भएका काम पनि छिट्टै पुरा हुने प्रतिवद्धता गरे । उनले भने,‘नयाँ योजना पनि नेकपा सरकारले अगाडि बढाउँदैछ । निर्माण हुँदै गरेका योजना चाडै बन्न पनि नेकपालाई नै मत दिनुस् ।’
बुधबार वडा नं. ९ का न्युरोड, नयाँबजार, साँघुकोमुख, शान्तिवन, बसपार्क, शुभकामना टोल लगायत विभिन्न ठाउँमा सभा भएका छन् । उम्मेदवार विद्याले जनताका अधुरा सपना पूरा गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताइन् । ‘३ तहका सरकारसँग समन्वय गरी विकासका कामको अगुवाइ गर्नेछु,’ उनले भनिन् ।
विद्याको चुनावी घरदैलो अभियान बुधबार पोखरा ९ भीमसेनचोक स्थित सहिद भीमसेन दाहालको शालिकमा माल्यार्पण गरी सुरू भएको छ ।
भूमिहीनलाई चाडै स्वामित्व : खगराज
पूर्व स्वास्थ्यमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशका सहइन्चार्ज खगराज अधिकारीले नेकप भूमिहीनहरु र आम श्रमजीवीको पार्टी भएको बताएका छन् । साँघुमुखमा आयोजित कोणसभामा नेता अधिकारीले १ वर्षभित्रै सबै भूमिहीनले भूमिको स्वामित्व प्राप्त गर्ने बताए ।
चुनावी कार्यक्रम अन्तर्गत पोखरा १५ अमिनतारा टोलमा घरदैलो तथा कोणसभा भएको छ । कार्यक्रममा नेकपा कास्की सचिव बखान सिंह तमुले जनताको अधिकारका लागि लड्ने उम्मेदवारको जित निश्चित भइसकेको बताए । कार्यक्रममा पोखरा१५ का अध्यक्ष प्रकाश पौडेलले वडाले टोल टोलमा गरेका विकाश निर्माण गतिविधिबारे जानकारी गराएका थिए ।
पोखरा १७ मा ४ कार्यालय
पोखरा १७ मा विभिन्न भेगलाई समेटने गरी नेकपाले४ वटा निर्वाचन परिचालन कार्यालय स्थापना गरेको छ । निर्वाचन अभियानलाई प्रभावकारी बनाउन कार्यालय स्थापना गरिएको नेकपा १७ अध्यक्ष सुवास ढुंगानाले बताए ।
कार्यालय उद्घाटन नेकपा कास्की अध्यक्ष कृष्ण थापाले विकास प्रेमी नेता रवीन्द्र अधिकारीले देखेका सपना साकार पार्न विद्या भट्टराई अधिकारीलाई सर्वसम्मत उम्मेदवार बनाइएको उल्लेख गरे । उनले पार्टी नेतृत्वको सरकारले गरेका राम्रा काम प्रचार गर्दै मतदातामाझ पुग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा जिल्ला कमिटी सदस्य राधिका शाही योगी, सुवर्ण श्रेष्ठ र ओमबहादुर हमाल, मजदुर नेता रुद्र खत्री, पोखरा १७ का वडाध्यक्ष तीर्थ अधिकारी, भुवानी भट्टराई, पार्टी वडा सचिव ईश्वरीप्रसाद लम्साल लगायतले बोलेका थिए ।
पोखरा १६ मा भेला
उपनिर्वाचन लक्षित गरी नेकपा निर्वाचन परिचालन कमिटी पोखरा १६ अभियानमा जुटेको छ । कमिटीले बाटुलेचौरमा कार्यकर्ता भेलाको आयोजना ग¥यो । भेलामा नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङले पार्टीको प्रमुख लक्ष्य देशको समृद्धि रहेको बताए । उनले कृषि क्षेत्रमा आधुनिकीकरण गरी युवालाई रोजगारी सिर्जना गरिने जनाए ।
नेकपा उम्मेदवार भट्टराईले समृद्घ नेपालको सपना साकार पार्न पनि आफू चुनावी मैदानमा उत्रिएको बताइन् ।कार्यक्रमा वडा कमिटी अध्यक्ष जेएन तिमिल्सिना, महानगर कमिटी अध्यक्ष दीपक पौडेल, पोखरा १६ का वडाध्यक्ष जीवन आचार्य, निर्वाचन परिचालन कमिटी संयोजक निर्मल आचार्य, सदस्य सीता आचार्य लगायतले बोलेका थिए ।
आदिवासी जनजातिको कमान्ड चेतलाई
उपनिर्वाचनका लागि नेकपाको आदिवासी जनजाति महासंघ नेपालले जिल्ला निर्वाचन मूल कमान्ड समिति तथा जिल्ला निर्वाचन परिचालन समिति अन्तर्गत आदिवासी जनजाति परिचालन उपसमिति गठन गरेको छ ।
मंगलबार भएको भेलाले चेतबहादुर गुरुङको संयोजकत्वमा १ सय १ सदस्यीय आदिवासी जनजाति परिचालन उपसमिति गठन गरेको छ । सहसंयोजकमा रामबहादुर थापा, सचिवमा लालबहादुर राना, सहसचिवमा दिलीप श्रेष्ठ र कोषाध्यक्षमा राजकुमारी भुजेल छन् । भेलाले आदिवासी जनजाति महासंघ नेपालका नेता झकबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय अनुगमन समिति र अर्का नेता लोकबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
भेलामानिर्वाचन मूल कमान्ड संयोजक राजकाजी गुरुङले नेपालका हरेक राजनीतिक परिवर्तनमा आदिवासी जनजाति समुदायले उल्लेखनीय योगदान गरेको जनाए । उनले आदिवासीको संकल्प र सपना नेकपाले मात्र पूरा गर्न सक्ने दाबी गरे ।नेकपा कास्की सहइन्चार्ज श्रीनाथ बरालले घरदैलो अभियानमा आदिवासी जनजाति समुदायले विशेष भूमिका खेल्नुपर्ने विचार राखे ।