तनहुँमा पर्यटक बस र ट्रक ठोक्किँदा ९ जना घाइते

 

तनहुँ, साउन २२ ।

तनहुँको व्यास नगरपालिका–१२, कमलबारीस्थित पृथ्वी राजमार्गमा बस र ट्रक ठोक्किँदा ९ जना घाइते भएका छन् ।

काठमाडौंबाट दमौलीतर्फ आउँदै गरेको बा१प ९१३ नम्बरको पर्यटक बस र विपरीत दिशाबाट गुडिरहेको ना६ख ५८६५ नम्बरको ट्रक एकापसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी घाइते भएकाको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते भएका सबैजना खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

महिला मृतावस्थामा फेला

त्यसैगरी, तनहुँको आँबुखैरेनी गाउँपालिका–२, मार्कीचोकस्थित मर्स्याङ्दी नदी बाँधमा बुधबार एक महिला मृतावस्थामा फेलापरेकी छन् ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएअनुसार मृत्यु हुनेमा गोरखा, पालुङ्टार नगरपालिका–३ निवासी ५२ वर्षीया फूलमाया सार्की रहेकी छन् ।

मंगलबार बिहान करिब ८ बजे घरबाट निस्केकी फूलमाया बुधबार दिउँसो मर्स्याङ्दी नदी ड्याममा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीले लामो समया लगाएर शव बाहिर निकालेको थियो । शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।

ती महिलाले आत्महत्या गरेकी हुन् वा नदीले बगाएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)