टिकट दिएपछि गुटबन्दी सकियोः निधी

पोखरा, कार्तिक २२ ।
उपनिर्वाचनको टिकट वितरणपछि कास्कीमा गुटबन्दी सकिएको नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले बताएका छन् । निकै चर्को रस्साकस्सीपछि बुधबार मात्रै काँग्रेसले आफ्नो उम्मेदवार टुंग्याएको थियो । पूराना नेता खेमराज पौडेल कास्कीको उपनिर्वाचनमा उम्मेदवार बनेका छन् । पौडेललाई टिकट दिएपछि पार्टीले निकै राम्रो निर्णय गरेकोमा चौतर्फी प्रशंसा पाएको उनले सुनाए । ‘सबैले राम्रो निर्णय भनेका छन् । आधारातमा पनि फोन बजेको छ । पार्टीको बैठकमा पनि खेमराज जी को नाम आएपछि कोही बोल्न सकेनन्,’ उनले भने, ‘हामीसँग यस्ता धेरै उम्मेदवारहरु स्टकमा हुनुहुन्छ । पार्टीलाई चाहिएका बेला निकाल्न सक्छौं । यो उपनिर्वाचन काँग्रेसले नै जित्छ ।’

मनोनयन दर्ता कार्यक्रममा सहभागी हुन पोखरा आएका निधीले चुनावी सभालाई सम्बोधन गर्दै चुनाव जित्नको लागि केन्द्रीय समितिको तर्फबाट सबैलाई एक ढिक्का भएर खट्न आग्रह गरे । मत आएन भने जुलुस जत्रो भएपनि त्यसको खासै अर्थ छैैन । ‘११ वटा वडामा तपाईसँग रहेको २०–२२ दिनमा मतदाताहरुलाई आफ्नो पार्टीको रुख छापतिर आकर्षित गराउनुहुन्छ, रुखमा मतदान गर्ने अवस्था ल्याउनुहुन्छ, त्यो नै सबैभन्दा ठूलो काम हो,’ उनी भन्छन्, ‘सबै एकजुट भएर लाग्नुहोस । चुनाव जित्ने सन्देश लिएर म काठमाण्डौं जान्छु ।’ अघिल्लो पटक स्व. रवीन्द्र अधिकारीले काँग्रेसकै भोट ल्याएर चुनाव जितेको भन्दै उनले यसपालि काँग्रेसजतिले रुखभन्दा अन्त मतदान नगर्ने बताएका छन् ।

‘रवीन्द्र जीले भेट हुँदा मसँगै भन्नुभएको छ कि ‘विमल दाइ तपाईंहरु कै भोटले मैले चुनाव जितेको हुँ ।’ यदी यो साँचो हो भने सबैले प्रशंसा गर्नुभएको छ, रुखमात्रै होईन मुखपनि राम्रो छ भन्नुभएको छ,’ उनले अघि भने, ‘यसबाट हामी सबै विश्वस्त हुन्छौं । सबै देशबासीले कास्की हेरिरहेका छन् । सबैले यसपाली यो आशा गरेका छन्, हामीले पनि अब यो विशाल सभा, कास्कीको प्रतिबद्धताबाट, विश्वासपूर्वक सन्देश लिएर जान चाहान्छु ।’

देशभरीमा एउटा मात्रै प्रतिनिधिसभाको उपनिर्वाचन हुन लागेकोले विश्वकै ध्यान यतातिर केन्द्रीत भएको बताए । सभालाई पूर्वसभामुख तारानाथ रानाभाट, केन्द्रीय सदस्य जीवन परिया, पूर्वमन्त्री यज्ञबहादुर थापा, जिल्ला सभापति कृष्ण केसी, आमन्त्रित केन्द्रीय सदस्य तथा प्रदेश सांसद कुमार खड्का, विन्दुकुमार थापा लगायतले सम्बोधन गरेका थिए ।