छोराको हत्यारा खोजिदिन आमाको विलौना–४ बर्षपछि थाल्यो कास्की प्रहरीले छानविन

पोखरा, बैशाख १७ ।
पोखरा नयाँ बजारका सूर्य पाण्डेको हत्या भएको चार वर्षपछि अनुसन्धान शुरु भएको छ । विसं २०७१ फागुन ७ गते नयाँबजारको तुलसीघाटमा पाण्डेको शव भेटिएको थियो । आफन्तले हत्या भएको भन्दै तत्काल प्रहरीमा केही शंकास्पद व्यक्तिको नामसहित किटानी जाहेरी दिँदा चासो नदिइएको आफन्तको आरोप छ ।

लामो समयसम्म छोराको हत्यारालाई पक्राउ नगरिएको भन्दै पाण्डेकी आमाले न्यायका लागि मानवअधिकारवादी र पत्रकारलाई गुहारिन । सो घटनाका बारेमा राष्ट्रिय मानवअधिकार आयोगले विशेष चासो देखाएर अनुसन्धान अघि बढाएपछि गत शुक्रबार किटानी जाहेरीपछि प्रहरीले घटनामा संलग्न रहेको भन्दै तीन जनालाई आइतबार पक्राउ गरेको हो ।

आयोगको पहलमा प्रदेशको एसआइटीले समेत विशेष चासो देखाएर अनुसन्धान थालेपछि जिल्ला प्रहरी कार्यालयले आरोपीलाई पक्रन बाध्य भएको हो । पाण्डेको हत्याको आरोपमा कास्की प्रहरीले पोखरा महानगरपालिका ९ बस्ने माइला भनिने बुद्धि श्रेष्ठ तथा उनका साथी पोखरा ९ बस्ने ध्रुव मानन्धर र ध्रुवका दाइ रामचन्द्र मानन्धरलाई पक्राउ गरेको छ ।

उनीहरुलाई सोमबार म्याद थप गरेर कास्की प्रहरीको हिरासत कक्षमा राखी अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए । ‘प्रहरीले पनि खोजि गरिरहेको थियो । अनुसन्धानबाट हत्यारा नजिक पुगेपछि पक्राउ गरिएको हो, उनले भने–अनुसन्धान जारी छ । केही दिनमा टुंगिन्छ । चौतर्फी चासो बढेपछि प्रहरीले अहिले झनै सक्रिय भएर काम गरेको छ ।’

Photo-Yunish Gurung