चुँदी रम्घालाई भाषा अनुसन्धानको केन्द्र बनाइने
पोखरा, असार २९ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली भाषामाथि विदेशी भाषाको अतिक्रमण बढिरहको बेला भानुभक्तको योगदान स्मरण गरेर नेपाली भाषालाई अझ मजबुद् बनाउनु पर्ने बेला आएको बताएका छन् ।
भानुभक्तको २ सय आठौं जन्मजयन्तीका अवसरमा मंगलबार शुभकामना वक्तव्य जारी गर्दै मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘भाषा निरन्तर रुपमा परिमार्जन र परिष्कृत हुँदै जाने विषय हो । भानुभक्तले लगाएको बलियो जगमा टेकेर नेपाली भाषाको श्रीवृद्धिमा लाग्न यस पावन अवसरमा म सम्पूर्ण विद्धानहरुलाई अनुरोध गर्दछु ।’ भानुले थालेका थालेको भाषिक विकासको आन्दोलनलाई थप उचाइमा पु¥याउन उनले आग्रह गरेका छन् ।
नेपाल र नेपालीको प्रेरणाका स्रोत नेपाली भाषाको श्रीवृद्धिका माध्यमबाट नेपालको राष्ट्रिय एकतामा अतुलनीय योगदान गर्ने युगपुरुष आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीका अवसरमा मुख्यमन्त्रीले बधाई तथा शुभ–कामना दिएका छन् ।
उनले युगपुरुष भानुभक्त जन्मेको स्थल पुण्य भूमि हो भन्दै उनले भनेका छन्, ‘साहित्यकारहरुका लागि यो तीर्थस्थल हो । भानुभक्तको जन्मस्थललाई नेपाली भाषा, साहित्य र संस्कृति विकासको केन्द्रको रुपमा स्थापित गर्नु आवश्यक छ ।’ पुण्य भूमिको समृद्धिको लागि र चुँदी रम्घालाई नेपाली भाषाको विकासको अध्ययन अनुसन्धान गर्ने केन्द्रको रुपमा विकास गर्न उनले प्रदेश सरकार सरोकारवाला सबैसँग मिलेर काम गर्न प्रतिवद्ध रहेको जनाएका छन् ।
पृथ्वीनारायण शाहले भौगोलिक रुपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको गौरवपूर्ण सन्दर्भलाई उनले स्मरण गरेका छन् । रामायण जस्तो चर्चित र लोकप्रिय ग्रन्थलाई नेपालीमा अनुवाद गरी जनजनमा पु¥याएर नेपाली भाषाको श्रीवृद्धि मात्र होइन राष्ट्रिय एकता प्रवद्र्धनमा भानुले गरेको योगदान नेपाल र नेपालीको मानसपटलमा युग युगसम्म रहने शुभकामना सन्देशमा उल्लेख छ ।
विसं १९७१ मा असार २९ मा तनहुँको चुँदी रम्घा गाउँमा कुलिन परिवारमा भानुको जन्म भएको हो । भानुभक्त सम्पूर्ण नेपाली जातिका लागि प्रेरणा र गौरवको स्रोत भन्दै मुख्यमन्त्री पोखरेलले संसारभर छरिएर रहेका नेपालीहरुका लागि उनी सदासर्वदा प्रातःस्मरणीय रहेको जनाएका छन् । घाँसीको प्रेरणाबाट महत्वपूर्ण कृति जन्माएको घटनाले त झन् भानुको सरलता र महानता झल्कने उनको भनाइ छ । भानुले रामायणलाई नेपाली भाषामा रचना गर्नुका अतिरिक्त प्रश्नोत्तर, भक्तमाला लगायतका प्रसिद्ध कृतिहरु हामीलाई उपहारका रुपमा दिएका छन् ।
रामायणको छन्द र भावलाई कत्ति पनि तलमाथि नपारी नेपाली जनजिब्रोमा झुण्डिने सरल भाषामा अनुवाद गरेकै कारण भानुभक्त नेपाली भाषीमा प्रिय बनेका हुन् । विभिन्न कृतिको रचना गरेता पनि सबै भन्दा रुचाइएको कृति भएकाले उनको पहिचान रामायणसँगै जोडिएको छ । भानुभक्तलाई कवि भानुभक्तका रुपमा चिनाउने श्रेय भने मोतिराम भट्टलाई जान्छ । भानुभक्तका पाण्डुलिपीलाई संग्रह गरी पुस्तक प्रकाशन गर्ने उनै मोतिराम भट्टले भानुभक्तलाई नेपाली भाषाको आदिकविको उपाधि दिएर चिनाएका हुन् ।