गोरखाका नुरप्रसादले अदालत तोडफोड गरे, ७ दिन हिरासतमा राख्न आदेश

ललितपुर, असोज ८ ।
गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीलाई ललितपुर जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर ललितपुरलाई अनुमति दिएको छ । आइतबार उच्च अदालत पाटनमा तोडफोड गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । आफूले वारेस बनेर जिम्मा लिएको मुद्दा हारेपछि इजलास अधिकृत रोशन बस्नेतमाथि आक्रमण गर्दै उनले अदालत तोडफोड गरेका थिए । उनको आक्रममणबाट इजलास अधिकृत रोशन बस्नेतको हातमा चोट लागेको छ ।

‘नुरप्रसादलाई आइतबार पक्राउ गरेका थियौं’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी शेखर खनालले भने, ‘ज्यान मार्ने उद्योगमा सात दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ ।’ नुरप्रसादले ललितपुरकी बिन्दु घतानीको घरजग्गा सम्बन्धी मुद्दाको वारेस लिएर उच्च अदालत पाटन गएको बताइएको छ । ललितपुर जिल्ला अदालतबाट मुद्दा हारेपछि उनी उच्च अदालत पाटन आएका थिए । उक्त मुद्दामा न्यायाधीशद्वय रमेश खरेल र शेखरप्रसाद पौडेलको इजलाशले आइतबार जिल्ला अदालतको फैसला सदर गरेको थियो ।

माओवादी जनयुद्ध बेला मारिएका फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीका माग गर्दै उनकी आमा गंगामाया वीर अस्पतालमा अनसन बसिरहेका छिन् । बुबा नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा गतवर्ष मृत्यु भएको थियो ।–रातोपाटी