गाउँपालिकाका अध्यक्ष भन्छन्–‘काम वडामा छ, दाम सिंहदरबारमा’

ताङतिङ (कास्की), कार्तिक १७ ।
गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष होमनारायण श्रेष्ठले समाजवादको मर्म अनुसार सरकारले ब्यवहार नदेखाएको आरोप लगाएका छन् । समाजवादमा योग्यता अनुसारको काम र काम अनुसारको ज्यालाको परिकल्पना गरिएपनि नेपालमा कामको मुल्यांकन नभएको उनको गुनासो छ । नेपालमा तीनथरी सरकार छन् । अव प्रदेश र केन्द्र हेर्नुस्, संसदमा विधेयक दर्ता हुन्छ । टेवुल भएको विधेयकमा सांसद ज्यूहरुले अलिकति विचार राख्नुहुन्छ । माननीय ज्यूहरुको काम त्यो भन्दा अरु के होला ?, उनले भने–तर वडामा बस्ने वडाध्यक्ष विहान उठेर आँखा मिच्दै सिफारिस गर्न जनता घरमै आईपुग्छ । बेलुकी सुत्नेबेला सम्म पनि उसले सुख पाउँदैन । काम कहाँ छ ? काम वडामा छ । दाम कहाँ छ ? दाम सिंह दरबारमा छ ।’

संघ सरकारको अवरोधका कारण गाउँ तहमा सहज ढंगले काम गर्न नसकेको उनले बताए । ‘डेढ बर्ष भैसक्यो अहिलेसम्म कर्मचारी गाउँमा आएका छैनन् । राज्यलाई नोक्सान नहोस् भनेर अहिलेसम्म कुरिरह्यौं, उनी भन्छन्–अव पर्खिन सक्दैनौं । कर्मचारी संघ सरकारको मातहतमा बसिरहने हो भने संविधानलाई प्रयोग गरेर अस्थायी र करारमा कर्मचारी भर्ति गर्छौं ।’ नेपालमा अधिकांश गाउँ भएकोले गाउँपालिकालाई बढी प्राथमिकताका साथ हेर्नुपर्ने उनको सुझाव छ ।

हामी स्वायत्त हौं, स्वतन्त्र होईनौं–मुख्यमन्त्री

गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेशको पहिलो अधिवेशन कास्कीको पर्यटकीय गाउँ ताङतिङमा सुरु भएको छ । अधिवेशनलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको संघीय संरचना स्वतन्त्र नभएको बताएका छन् । नेपालको संघीय संरचना समन्वयात्मक भएको भन्दै उनले स्वायत्तता भएपनि तीनवटै सरकारलाई स्वतन्त्रता नभएको बताएका हुन् । ‘मुलुक मात्रै स्वतन्त्र छ । त्यसबाहेक नेपालका कुनैपनि संस्था स्वतन्त्र छैनन्, उनले भने–संघ, प्रदेश र स्थानीय सरकार संविधानमा तोकिएका ब्यवस्था चलाउन खुलेका स्वायत्त संस्था हौं । हामीलाई स्वतन्त्रता छैन ।’

मुख्यमन्त्री गुरुङले संविधानमै नभएको स्थानीय जनप्रतिनिधिको तलवी ब्यवस्था गण्डकी प्रदेशले गरेर समानताको ढोका खोलेको उल्लेख गरे । ‘संविधानले स्थानीय सरकारका जनप्रतिनिधिलाई तलवको ब्यवस्था गरेको छैन । तर हुनुपथ्र्यो, उनले थपे–गण्डकी प्रदेशले थोरै भएपनि तलव तथा सेवा सुविधाको ब्यवस्था गरेको छ । हामीले ढोका खोल्ने काम ग¥यौं ।’ उनले प्रदेश र स्थानीय सरकार साझा एजेण्डा तय गरेर एकसाथ अघि बढ्नुपर्नेमा जोड दिए । ‘तपाईंहरुको अधिकारका लागि प्रदेश सरकार लड्न तयार छ । प्रदेश सरकारलाई परेको समस्यामा तपाईंहरु पनि साथ दिनुस्–स्थानीय सरकारहरुसँग गुरुङले प्रश्ताव राखे ।’

महासंघका उपाध्यक्ष बंशलाल तामाङले जनताको सेवामा खटिने कार्यालयहरु फेरि जिल्लाका केन्द्रमा राखिएको गुनासो गरे । ‘स्थानीय तहमा पठाउनुपर्ने कार्यालयहरु विज्ञ वा ध्यान वा अन्य के के नाममा जिल्लामै थन्क्याईएको छ । जिल्लामै कार्यालय राख्ने भए गाउँको सेवा कसले गर्छ ? उनले भने–सरकारले संविधानको मर्म अनुसार काम गरेन ।’

कार्यक्रममा पूर्व मन्त्री तथा सांसद खगराज अधिकारीले जतिसक्दो छिटो कर्मचारी समायोजन सम्बन्धी ऐन ल्याएर कर्मचारीलाई स्थानीय र प्रदेश तहमा पठाउने बताए । पूर्व सांसद तथा काँग्रेस नेता अर्जुन जोशीले जनताले सरकारलाई अनुभव गर्न नपाए देशको समृद्धी सम्भव नहुने बताए । प्रदेश सांसद मनबहादुर गुरुङले आफुसँग भएका श्रोत र साधनको अधिकतम उपयोग गर्दै समृद्धीको अभियानमा लाग्न सबै स्थानीय सरकारलाई आग्रह गरे । सांसद दीपक कोइरालाले राजनीतिक संक्रमण सकिएपनि ब्यवस्थापीकय संक्रमण बाँकी रहेको भन्दै दुई सरकार मिलेर यसलाई समाधान गर्नुपर्ने बताए ।

अधिवेशनमा गण्डकी प्रदेशभित्रका ५८ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र केही वडाध्यक्षहरु सहभागी छन् । अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ भने ताङतिङ घोषणापत्र जारी गर्नेछ । अध्यक्ष ईश्वर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राजु पौडेलले गरेका थिए भने मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङले स्वागत गरेका थिए । अधिवेशन शनिवार सकिनेछ ।