गण्डकीका सांसद भन्छन्–‘तस्विरकी देवी पुज्ने, घरकी देवी चुट्ने ?’

प्रकाश ढकाल
पोखरा, भदौ १८ ।
गण्डकी प्रदेशका सांसदहरुले पछिल्लो समय भएका बलात्कारका घटनाप्रति सदनबाट सरकारको ध्यानकर्षण गराए । सोमबार प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै उनीहरुले कञ्चनपुर, पोखरा सहितका विभिन्न ठाउँहरुमा भएका महिला हिंसा र बलात्कारका घटना विवरण सहित सरकारमाथी प्रश्न गरे । ‘बहिनी बलात्कृत भईन्, छोरी मारिईन् भनेर न्याय माग्न सडकमा झर्दा लाठी चार्ज गर्ने, अश्रुग्याँस हान्ने र मान्छेमाथी गोलि हान्ने काम सरकारले गरेको छ । सरकारले हत्याकाण्डको दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्नेमा उल्टै पीडित परिवारलाई मानसिक यातना दिने, गलत किटानी जाहेर गर्न बाध्य पार्ने, मानसिक रोगीलाई अपराधी भन्दै पक्राउ गर्ने काम निन्दनीय छ, सांसद कुमार खड्काले भने–लोकतन्त्रका लागि र नागरिक अधिकारका लागि १४ बर्ष जेल बसेका प्रधानमन्त्री भएको बेला १४ बर्षिय बालकको छात्तिमा गोलि हानेर हत्या गरिनु आपत्तिजनक छ ।’

नेपाली सभ्यतामा महिलाको सम्मान गर्ने परम्परा भएपनि पछिल्ला दिनहरुमा भएको महिलामाथीको आक्रमण कहालीलाग्दो बन्दै गएको खड्काको भनाई छ । ‘हाम्रो संस्कृति, सभ्याता र धर्मले महिलालाई पुज्दै आएको छ । अहिले नेपाली समाज तस्विरको देवी पुज्ने र घरकी देवी चुट्ने विनासको बाटोतर्फ अग्रसर भैरहेको छ, उनी भन्छन्–छोरीलाई भ्रुणमै हत्या गर्ने, जिउँदै जलाउने, एसिड हान्ने र बलात्कार गर्ने घटना कहालीलाग्दो भैैसक्यो । सरकारले यसबारे गम्भीरता पुर्वक लिएन ।’

नेकपा सांसद मीना गुरुङ पछिल्ला घटनाहरुले विरोधी शक्तिलाई बल पुगेको बताउँछिन् । ‘घटनामाथी अतिरञ्जित गर्ने र आरोप सरकारमाथी थुपार्ने अवसर पाएका छन् । प्रहरीको तथ्याकंले साउन र भदौमा ३३ वटा बलात्कार भएको देखाउँछ, उनी भन्छिन्–आरोपी पत्ता लागेन भनेर प्रहरीले छुट पाउँदैन । फेक आरोपी पनि खडा गर्न पाईंदैन । गृह प्रशासनतिर जनताको ध्यान केन्द्रित छ । सरकारको चासो जाओस् ।’ सरकारलाई असफल बनाउन आपराधिक घटना बढेको हुन सक्ने भन्दै अपराधिक मानसिकता भएकाहरुप्रति पनि छानवीन हुनुपर्ने उनको माग छ ।

नयाँ शक्तिका हरिशरण आचार्यले सरकार र नागरिकबीच दुरी बढ्दै गएकोप्रति सचेत गराए । ‘त्यतिधेरै जनमत बटुलेर बनेको सरकार जनताबाट किन टाढा भागिरहेको छ ? सरकार र नागरिक बीचको सम्बन्ध कमजोर हुँदै गएको छ । अन्तरविरोध बढिरहेको छ, उनले भने–जनताभन्दा फरक शक्ति नेपालमा स्थापित भैरहेको छ । जनताको चाहना अनुभुति गराउन सरकारको ध्यानाकर्षण गराउँछु ।’

काँग्रेसकै सांसद मेखलाल श्रेष्ठले खाद्य बजारमा भएको मनपरी रोक्न सचेत गराए । अखाद्यय बस्तु मिसाएर मानवस्वास्थ्यमाथी गम्भीर लापरबाही गरिएको भन्दै उनले तत्काल अनुगमन गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । ‘सरकार बोल्छ तर गर्दैन । ठेकेदारलाई नियमसँगत बनाउँछु भन्यो अहिलेसम्म गर्न सकेन । यातायातमा सिण्डकेट हटाउछु भन्यो, अहिलेसम्म गरेन । सुनकाण्डको ठूलो माछा समात्छु भन्यो, दोषी समात्न सरकारलाई कसले छेक्यो ?, उनले भने–संघ सरकारले नगरेपनि प्रदेश सरकार अघि सरोस् । हामी प्रतिपक्षी सहयोग गर्न तयार छौं ।’