गण्डकी प्रदेशका कर्मचारी–संसद जान्छन्, झगडा गरेर फर्किन्छन्
पोखरा, पुस १२ ।
संसद सचिवालयका कर्मचारी यतिबेला फुर्स्दिला छन् । सदन तीन महिनादेखि बन्द छ । सामान्य प्रशासनिक कामबाहेक कर्मचारी घाम तापेरै बस्छन् । केही समयअघि प्रदेशसभा प्राङ्गणमा फुटबल खेलेर सचिवालयका २ कर्मचारीले खुट्टा नै भाँचेका पनि थिए । यस्तै, सरकारी गाडी सिक्न खोज्दा अर्को गाडी नै कुच्चिएको थियो ।
बुधवार प्रदेशसभामा पुग्दा कर्मचारीहरू बाहिरै बसेर घाम तापिरहेका थिए । सभामुख नेत्रनाथ अधिकारी सहित सचिवालयका सचिव शम्भु खड्कासहित केही कर्मचारीहरू बैठकमा सहभागी थिए । बैठक सकिएपछि सभामुख फर्के । त्यसपछि सुरु भयो सचिव शम्भु खड्का र लेखा अधिकृत दुर्योधन गिरीको जुहारी । दुई कर्मचारी झगडामा उत्रिनुको कारणचाहिँ महंगी भत्ताको विषयमा थियो । प्रदेशसभा सदस्य राजीव पहारी प्रदेशसभामा प्रवेश गरेपछि मात्रै उनीहरुको झगडा साम्य भएको थियो ।
यस्तो छ घटना
प्रदेशसभा सचिवालयमा कार्यालय सहयोगीका ३ वटा दरबन्दी छन् । ती तीनवटै दरबन्दीमा स्थायी कर्मचारी पनि आउन सक्छन् । तर, उनीहरू नआउन्जेलसम्म सचिवालयले रञ्जना वाग्ले, सुनिता मोक्तान र सुर्य बहादुर केसीलाई नियुक्त गरेको छ । यी तीनमध्ये मोक्तान सचिव खड्काको भान्सेको रुपमा काम गर्छिन् ।
६–६ महिनाको अस्थायी नियुक्त पाएका यी कर्मचारीहरुले महंगी भत्ता पाउने व्यवस्था सम्झौता पत्रमा छैन् । करार ऐन अनुसार कर्मचारी राख्दा महंगी भत्ता पाउने–नपाउने भन्ने स्पष्ट खुलाइएको हुनुपर्छ, उनीहरूको हकमा ऐन अनुसार महंगी भत्ता पाउँदैनन् । तर, सचिवालयका सचिव शम्भु खड्काले लेखा अधिकृत गिरीलाई महंगी भत्ता दिन ठाडो दबाब दिए र गिरीले अस्विकार गर्दा झगडा नै पर्याे ।
स्थायी कर्मचारीले मासिक २ हजार रुपैयाँ महंगी भत्ता पाउँछन । सोही भत्ता अस्थायी कर्मचारीलाई जसरी भएपनि दिनुपर्छ भनेपछि लेखा अधिकृत गिरीले नदिने अडान लिए । ‘करार ऐनमा लेखिएको छैन्, मैले कसरी दिने ?’ गिरीले भने, ‘म पनि तपाईकै प्रक्रियाले नियुक्त भएको कर्मचारी हुँ, विधी विपरित काम गर्न म सक्दिन् ।’ सचिव खड्काले चाहिँ कर्मचारीलाई संयुक्त रुपमा महंगी भत्ता पाउँ भन्ने व्योहोरोको निवेदन दिन अस्थायी कर्मचारीलाई आग्रह गरे ।
‘तपाईहरुले निवेदन दिनुहोस्, मैले तोक लगाइदिन्छु’ उनको भनाई थियो । तर, ऐनमा नै उल्लेख नभएको विषयमा आफूले हात नहाल्ने भन्दै गिरीले अडान लिए । ‘मैले १, २, ३ दिन्न तपाई के गर्नुहुन्छ गर्नुहोस, मेरो सरुवा गरिदिनुहोस् र अर्को कर्मचारी ल्याउनुहोस’ उनले थपे, ‘तपाईको मौखिक आदेशलाई महालेखाले बुझ्दैन, कि सम्झौतापत्र नै संशोधन गर्नुहोस्, यसरी कर्मचारी पेल्न पाईँदैन ।’ सचिव खड्काले चाहिँ, आफूले नियुक्त नगरेको र नपठाउने बताउँदै सचिवको ठाडो आदेश भनेतापनि मौखिक आदेश भनेतापनि महंगी भत्ता दिनैपर्नेमा जोड दिए ।
महालेखा परिक्षकको कार्यालयले लेखापरिक्षण गर्दाको विषयमा आफूलाई जानकारी नगराएको भन्दै सचिव खड्का अन्य कर्मचारीसँग समेत आक्रोशित बनेका थिए । लेखा अधिकृत गिरीले भने लेखापरिक्षणको विषयमा कार्यालय प्रमुखले चासो नै नदिएको आरोप लगाए । अन्य कर्मचारीहरुले सचिव खड्काले पेलेको आरोप समेत लगाए । यसबाहेक सचिव खड्काले दशैँयता सरकारी गाडी काठमाडौंस्थित घरमा नै लगेर राखेका छन् । सचिवालयमा उनले अर्को गाडी प्रयोग गर्छन्, भने काठमाडौंमा सेन्ट्रो कार लगेर राखेका छन् । केही दिनअघि मात्रै उनै सचिव खड्काका छोराले सरकारी गाडी लिएर बेगनासको सयर गरेका थिए ।