खाली हुँदै निर्मल निवास, थाइल्यान्ड जाँदै पूर्वराजा ज्ञानेन्द्र
काठमाण्डौं, साउन १५ ।
पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्ड जान लागेका छन् । कान्छी नातिनी कृतिकाको उच्च शिक्षा अध्ययनका लागि कलेज भर्ना गराउन उनी थाइल्यान्ड जान लागेका हुन् । उनी जेठी नातिनी पूर्णिका र कृतिकालाई लिएर भोलि १६ गते बुधबार थाइल्यान्ड जान लागेका हुन् ।
उनको साथमा पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना, शाही अर्दली हस्तबहादुर मल्ल र शसस्त्रका निजी सुरक्षाकर्मी डीएसपी शिव राउत थाइल्यान्ड जान लागेका छन् । दुई वर्षअघि थाइल्यान्डमा उच्च शिक्षा अध्ययन गर्न पुगेकी जेठी नातिनी पूर्णिकासँगै कान्छी नातिनी कृतिकाले पढ्ने इच्छा गरेपछि कान्छी नातिनीलाई भर्ना गराउन ज्ञानेन्द्र परिवार थाइल्यान्ड जान लागेका हुन् ।
अध्ययनको बन्दोबस्ती मिलाउन पूर्वयुवराज्ञी हिमानी निजी सचिव स्मिता सिंहसँगै थाइल्यान्ड पुगिसकेकी छिन् । हिमानी पुत्र हृृदयेन्द्रलाई लिएर एक साताअघि थाइल्यान्ड पुगेकी हुन् । ज्ञानेन्द्रको सपरिवार थाइल्यान्ड गए पनि पूर्वयुवराज पारस नेपालमै बस्ने छन् । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।