कोरोनापछि के गर्ने ? एनआरएनए उपाध्यक्ष थापाको सरकारलाई सुझाव
पोखरा, बैशाख २७ ।
अहिले विश्व कोरोना महामारीको चपेटामा छ । कोरोना विरुद्ध जुध्न सबैले जोडबल गरिरहेका छन् । नेपालमा पनि लकडाउन जारी छ । नेपालको स्वास्थ्य सेवा बलियो र भरपर्दो नभएका कारण लकडाउन नै कोरोनाबाट जोगिने उत्तम उपाय हो । सरकार आगामी आर्थिक बर्षको बजेट बनाउने तर्खर पनि गर्दैछ । कोरोनापछि अधिकांश देशहरुमा भोकमरीको समस्या आउन सक्ने आँकलन धेरैले गरिरहेका छन् ।
अहिलेको ब्यवस्थापनसँगै भविष्यमा हुनसक्ने चुनौतिको पूर्व आँकलन गर्नु धेरै गाह्रो छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) की उपाध्यक्ष रवीना थापाले सरकारलाई कोरोनापछि चाल्नुपर्ने केही कामबारे सुझाव दिएकी छिन् ।
कोरोनापछि तत्कालै गर्नुपर्ने केही कामहरुः
१. अहिले भिजिट भिषामा गएका, अध्ययनका लागि गएका, जागिर खान गएका तर बैध कागजपत्र नभएका नेपालीहरु समस्यामा छन् । उनीहरुलाई नेपाल फर्काउने प्रयास तत्कालै थाल्नुपर्ने देखिन्छ । राजदुतावाससँगको समन्वयमा आफ्ना नागरिक फिर्ता गराउनका लागि सरकारसँग मेरो आग्रह छ ।
२. मजदुर, किसान, जागिरबाट हटाईएका, विदेशबाट फर्किएका र अन्य बेरोजगारको ब्यवस्थापन टड्कारो चुनौति बन्ने निश्चित छ । बेरोजगारको सूची बनाएर उनीहरुको दक्षता अनुसारको काम दिने वातावरण बनाउनुपर्छ । ८० को दशकमा नेपालबाट सबैभन्दा बढी निर्यात हुने गलैंचा कारखाना, हिमाली क्षेत्रहरुमा कुटिर उद्योग स्थापना र सञ्चालन, विश्वमा माग हुन सक्ने बस्तु र सेवाहरुको उत्पादन र ब्यापारमा हाम्रो ध्यान केन्द्रित गरिनुपर्छ । जस्तैः कफी, अदुवा, अलैंची जस्ता उत्पादन विश्वबजारमा अत्यधिक माग हुने गरेको छ ।
३. हामीले विश्वबाट सिकेको एउटा नयाँ अनुभव छ । कोरोनाका कारण निजी अस्पताल बन्द गरिए । निजी क्षेत्रलाई यति धेरै विश्वास गरेर सरकारले लगानीमैत्री वातावरण तयार गरिदियो, आज सरकारलाई नै नसुनेर उनीहरुले अस्पतालका ढोकामा ताला ठोकिदिए । हाम्रै नेपालमा पनि वीर अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल नभएको भए के हालत हुन्थ्यो ? तसर्थ यो अवस्थालाई सिकाईको रुपमा लिँदै सरकारी अस्पताललाई सक्षम र अत्याधुनिक बनाउने प्रश्ताव पनि लैजाओस् ।
४. अव नेपालमा स्वास्थ्य र शिक्षा प्रणाली निशुल्क हुनैपर्छ । गाउँगाउँमा सुविधासम्पन्न स्कुल र स्वास्थ्य संस्था स्थापना गरेर सबैलाई गाउँमै बस्ने वातावरण सिर्जना गर्नु आवश्यक छ । प्रत्यक गाउँमा कम्तिमा २० जनाले रोजगारी पाउने गरी साना उद्योग स्थापनामा जोड दिनुपर्छ । सकेसम्म खाद्यान्न आयात घटाउँदै लैजानुपर्छ ।
५चीनको ग्रेटवाल देशको सुरक्षाका लागि बनाईएको हो तर चीनमा भएका ३ लाख बेरोजगारलाई १० बर्षसम्म यहाँ जागिर दिईएको थियो । यो परियोजना सम्पन्न गर्दासम्म ३० लाख मान्छेले कुनै न कुनै जागिर पाएका थिए भने कतिले श्रमदान पनि गरेका थिए । अन्य देशका ठूला आयोजनाहरु पनि यस्तै संकटपछि निर्माण गरिएका छन् । जसबाट एकातिर बेरोजगारले रोजगारी पाउनेछन् भने सस्तोमा धेरै मजदुर पाउँदा जतिसुकै ठूला आयोजना पनि आँट्न सकिन्छ
। नेपालमा पनि कुनै विशेष परियोजना सञ्चालनको परिकल्पना तयार गरियोस्, जसले विश्वको ध्यान नेपालतर्फ खिच्न सकोस् ।
६ खासगरी कृषि उत्पादनमा जोड दिँदै किसानलाई तत्काल उत्पादन हुने बीउ बिजन वितरण गर्ने र बाँझो जमिन उपयोग गर्ने नीति अंगिकार गरियोस् । जग्गाधनीले खेती नगरे उक्त जग्गा सँधियारेले नै उपयोग गर्न पाउने ब्यवस्थाको माग गरियोस् ।
७ विशेषगरी बेरोजगार यूवाहरुलाई केन्द्रीत गरेर विशेष प्याकेज बनाईयोस् ।
गौतम बुद्धको प्रेरणाले जतिसक्दो छिटो विश्वभर शान्ति छाओस् । सहज रुपमा दैनिकी चलाउन सकियोस् । कोरोनाबाट छुटकारा मिलोस् । बुद्ध पूर्णीमाको सम्पूर्णमा शुभकामना ।